गृहपृष्ठ २० हजार उखु किसानको ७१ करोड रूपैयाँ बक्यौता

२० हजार उखु किसानको ७१ करोड रूपैयाँ बक्यौता

चिनी मिल बन्द गरिदिने चेतावनी

ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसानहरू शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाहीस्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले बक्यौता रकम भुक्तानी दिन आलटाल गरेपछि आफूहरू धर्ना बस्न बाध्य भएको उनीहरूको भनाइ छ ।

यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ऊखु किसान संघर्ष समितिका अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्तभित्र किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

संघर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् । सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ ।

ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको संघर्ष समितिका अध्यक्ष रायले जानकारी दिए । सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड र महालक्ष्मीसँग २१ करोड गरी कूल ७१ करोड रूपैयाँ बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताए ।

सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी ५ रूपैयाँ ३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई ४ रूपैयाँ ३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन् । किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ ।

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु