गृहपृष्ठ दुर्घटना न्यूनीकरणका लागि यात्रुबाहक सवारीलाई राजमार्गमा ‘टाइम कार्ड’

दुर्घटना न्यूनीकरणका लागि यात्रुबाहक सवारीलाई राजमार्गमा ‘टाइम कार्ड’

प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा राजमार्गलाई लक्षित गर्दै सार्वजनिक यात्रुबाहक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ । तीव्र गति रोक्न, चालकलाई जिम्मेवार र सचेत बनाउन तथा दुर्घटना न्यूनीकरणको मुख्य उदेश्य राखेर यातायात व्यवसायीसँगकै समन्वयमा ट्राफिक प्रहरीले पहिलो पटक तराईका तीन जिल्लामा एकै पटक ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो ।

अबदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि धरानसम्म गुड्ने सार्वजनिक यात्रुबाहक सवारी साधनले यो नियम मान्नु पर्ने छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियामा औपचारिक रुपमा यसको शुभारम्भ गरेका छन् ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक भीमबहादुर दाहालले छोटो तथा मध्यम दूरीकालाई लक्षित गरेर ‘टाइम कार्ड’ लागू गरिएको जानकारी दिए । विशेष गरेर राजमार्गमा सबै भन्दा बढी दुर्घटना भएको पाइएपछि राजमार्ग केन्द्रीत गरिएको उनको भनाइ छ ।

प्रदेश १ मा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा भएका चार सय ४७ वटा दुर्घटनामा एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस मध्ये १ सय ९ जनाको मृत्यु राजमार्गमा भएको दुर्घटनाबाट भएको प्रहरी उपरिक्षक दाहालले बताए ।

उनका अनुसार बढ्दो दुर्घटना, सवारी साधनको तीव्र गति र राजमार्गको अस्तव्यस्ततालाई नियमन गर्न तथा अनुशासीत बनाउन ‘टाइम कार्ड’ प्रणाली प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । ‘यात्रु उठाउन होडबाजी र अस्वस्थ्य प्रतिस्पर्धा गर्दै राजमार्गमा सवारी साधन तीव्र गतिमा कुदाइँदा दुर्घटना बढिरहेको पाइयो,’ दाहालले भने, ‘एकले अर्कोलाई उछिन्न र तीव्र गतिमा कुदाउन नपाइने नियमको अब कडाईका साथ अनुगमन गरेर कारबाही अघि बढाइनेछ ।’

किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरिएसँगै अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा यात्रुबहाक सवारी साधन गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तोकेको समयभन्दा अगाडि नै पुग्नेले कारवाहीको भागिदार बन्नु पर्ने दाहालले बताए ।

विशेष गरेर यो नियम कार्यान्वयन भए नभएको बारेमा कडाईका साथ अनुगमन गर्न ट्राफिक प्रहरी परिचालन गरेर १३ ठाउँमा टाइमकार्ड चेकजाँच स्थल स्थापना गरिएको छ ।

झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, ताराबारी, मोरङको बेलबारी, गछिया, कंचनबारी, विराटनगर बसपार्क, सुनसरीस्थित धरानको तीनकुने, इटहरीको कलंकी मोड, पकली, कोसी कटान र भण्टाबारीलाई चेकजाँच स्थल कायम गरिएको र यी स्थानबाट नियमित चेकजाँच हुने जानकारी प्रहरी उपरिक्षक दाहालले दिए । उनकाअनुसार ‘टाइम कार्ड’ लागू भएका सवारी साधनले एक किलोमिटर दूरी पार गर्न अब न्यूनतम १ मिनेट ४८ सेकेन्ड समय लगाउनुपर्नेछ ।

सबै सवारीका साधनका चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ हेण्डबुक आकारको छ । चालकले प्रत्येक चेक प्वाइन्टमा गाडी रोकेर उक्त हेण्डबुकमा आफ्नो समय दर्ता गराउनु पर्ने प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।

ट्राफिक प्रहरीले ‘टाइम कार्ड’मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक रोकशकुमार पोदारले बताए । प्रदेश १ मा बस, मिनी बस र माइक्रो गरेर छ हजारको हाराहारीमा सार्वजनिक यात्रुबहाक सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु