गृहपृष्ठ गैरसरकारी संस्थाको काम प्रशंसनीय छ : अध्यक्ष तिमिल्सिना

गैरसरकारी संस्थाको काम प्रशंसनीय छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासमा गैर सरकारी संस्थाको काम प्रशंसनीय भएको बताएका छन् ।

शुक्रबार आयोजित गैरसरकारी संस्था महासंघ नेपालको २५औँ वार्षिक साधारण सभामा बोल्दै उनले नागरिक समाज, महिला, दलित, बालबालिका तथा सिमान्तकृत समुदायको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको भन्दै गैरसरकारी संस्थाको काम प्रशंसा योग्य भएको बताएका हुन् ।

उनले संस्थाप्रति सरकारको विरोध नभएको बताए । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सफल पार्न गैर सरकारी निकायले खेलेको भूमिका सह्रानीय छ ।’

उनले भरखरै जारी गरेको ऐनमा पनि संस्थाको हित विपरित भएमा संशोधन गर्ने बताए । उनले भने, ‘अहिले जारी भएको संघ संस्था दर्ता ऐन २०७६ संविधानको माग अनुसार ल्याइएको हो । ऐनमा केही कमी कमजोरी भएको हुनसक्ने भन्दै यसबारे नागारिक समाजलाई छलफल गर्न सुझाव दिएका छौं ।’

उनले गैरसरकारी ऐनबारे फैलिएको हल्ला निराधार भएको बताए । ‘अहिले बाहिर फैलिएको हल्लाको पछि नलागौँ, वास्तविक बुझेर अघि बढौँ,’ उनले भने, ‘समाज रुपान्तरणमा ऐनको आवश्यकतालाई ध्यानमा राखेर ऐन ल्याइएको हो । त्यसमा केही फेरबदल पनि गर्न सकिन्छ ।’

सरकारले ल्याएका कुनै पनि ऐन, नियम, विधेयक सरकारको लागि नभएर जनताको लागि भएकोले हरेक नागरिकले चासो राख्नुपर्ने उनले बताए । ‘ऐन, नियमप्रति नागरिकको जान्ने, बुझ्ने र सुझाव दिने हक छ,’ उनले भने, ‘सरकारसँग छलफलमा आउन, चाहेको कुरा वेभसाइटमा हेर्न पनि सकिन्छ ।’

संस्थाले अपारदर्शी रुपमा ‘डलरको खेती’ गरिरहेको भन्ने आरोपलाई चिरेर पारदर्शी हिसाबले काम गर्न उनले सुझाब दिए । त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पनि ऐन जारी हुन नपाउँदै गलत सूचना र लहै लहैको पछि लाग्ने संस्कृति नै बनिसकेको बताए । उनले भने, ‘सरकारले जनता, नागरिक समाज, संघ संस्थाको विरोधमा जान सक्दैन भन्दै सही सूचनाको आधारमा सरकारको समर्थन वा विरोध गर्नुपर्छ ।’

उनले आगामी दिनमा महासंघ कसरी अघि बढ्ने, नीति नियम कस्तो हुने भन्ने बारेमा ध्यानाकर्षण गराए । उनले संस्थालाई देश विकासमा सहयोग गर्न अनुरोध गरे । उनले भने, ‘तपाँईहरु काम गर्नुहोस् सरकार तपाईहरुसँग साझेदारी गरेर अघि बढ्न तयार छ ।’

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु