गृहपृष्ठ खेल पूर्वाधार अलपत्र, खेलाडीले पाएनन् प्रशिक्षण स्थल

खेल पूर्वाधार अलपत्र, खेलाडीले पाएनन् प्रशिक्षण स्थल

पोखरा लेखनाथ भण्डारी ढिकस्थित निमार्णाधीन बहुद्देश्यीय कभर्ड हल अहिले अस्तव्यस्त छ । सरकारको ७० लाख रुपैयाँ खर्च भइसकेर पनि अहिले जिङरिंग छ । कभर्ड हल निर्माणको काम बजेट अभावका कारण रोकिएको स्थानीय बताउँछन् । कभर्ड हलभित्र अहिले लथालिंग सामान र वरपर झार देख्न सकिन्छ ।

सरकारले एक स्थानीय तह, एक खेल मैदानको नीति लिएको छ । नीतिअनुरुप विभिन्न ठाउँमा खेल पूर्वाधारको थालानीसमेत भएको छ तर यो हल हेर्दा अनौठो लाग्छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माकै गृह जिल्लामा पर्ने यो कभर्ड हलको निर्माण दुई वर्षअघि सुरु गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले २०७३ सालमा पोखराको लेखनाथस्थित भण्डार ढिक खेल मैदानमा कबर्ड हल निर्माणका लागि ५५ लाख रुपैयाँ विनियोजन ग¥यो । कबर्ड हल निर्माण शीर्षकमा विनियोजित बजेटलाई खेल मैदान रेखदेख गर्दै आएको स्थानीय आदर्श युवा क्लबले मैदानभित्रै बहुद्देश्यीय कभर्ड हल बनाउने उद्देश्यसहित २०७४ सालमा निर्माण कार्य थालनी पनि गर्‍यो ।

करिब साढे ३ करोड बजेट लगानी अनुमान गरी डिपिआर बनाएर ५५ लाख रुपैयाँले कार्य प्रारम्भ गरेको उक्त कभर्ड हल बेसको टाइबिम निर्माण भयो । गत वर्ष प्रदेश सरकारको १५ लाख रुपैयाँले पिल्लरसम्म उठाएको कभर्ड हल निर्माण कार्य त्यसपछिको बजेट अभावले सुरु हुनै नसकेको आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले बताए ।

उनले भने, ‘विगतमा स्थानीय सरकार नआइजेलसम्म खेलकुद मन्त्रालयलाई धेरैपटक अनुरोध गर्‍यौं तर उहाँहरुबाट ग्रामीण भेग भएको हुनाले यसलाई समग्ररुप लेखनाथलाई खेलकुदमय बनाउन लेखनाथमा पनि खेलाडि छन् भन्ने हिसाबको कोर्ट नभएका कारणले बजेट विनियोजन हुन ढिलाइ भयो ।’ कभर्ड हल नबन्नाले ब्याडमिन्टनका कार्यक्रमहरु, कराँते, टेक्वान्दो, भित्रि इन्डोरमा खेल्नुपर्ने गेमहरु खेलाउन नसकेको उनले बताए ।

कबर्ड हल अहिले बन्ने नबन्ने अन्यौलमा छ । लेखनाथ क्षेत्रमा कबर्ड हल नहुँदा इन्डोर खेलिने सबैजसो खेल समाज घर, पार्टी प्यालेसहरुमा खेल्दै आएका छन् । हलकै अभावमा इन्डोर खेल्न मिल्ने खेलको प्रशिक्षण भने बन्द जस्तै छ । युवा तथा खेलकुदमन्त्री विश्वकर्माको गृहजिल्ला कास्कीको लेखनाथले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसके पनि सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

कबर्ड हल निर्माणका लागि पटक पटक खेलकुद मन्त्रालयलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उनीहरुको दुखेसो छ । कबर्ड हल सम्पन्न गर्न प्रदेश सरकार र महानगरसँग समन्वय भइरहेको पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ बताउँछन् । हामी आउनुभन्दा अगाडि नै खेलकुद परिषदबाट बजेट विनियोजन भएको हो, हामी निर्वाचित भएर आएपछि यसको निर्माणको चरण सुरु भएको छ,’ उनले भने, ‘सुरुमा यसको खेलकुद मन्त्रलायबाट नै बजेटको निरन्तरता होला भन्ने सोच्यौं तर यसबाट निरन्तरता हुन नसकेपछि अधुरो रह्यो ।’

पछिल्लो वर्ष यो कभर्ड हलका लागि राखेपले बजेट नै विनियोजन गरेको छैन । खेलकुद मन्त्रालयले दुई वर्षसम्म पैसा नपठाउँदा बनाइएको जगसमेत बिग्रिने जोखिम छ । यसरी लाखौँ खर्च भइसकेको खेल पूर्वाधार अलपत्र हुँदा एकातिर राज्यको स्रोत खेर गएको छ भने अर्कोतिर खेलाडीले प्रशिक्षण स्थल पाएका छैनन् ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु