गृहपृष्ठ प्रदेश २ मा उमेर नपुग्दै ९० प्रतिशत किशोरीको विवाह
प्रदेश २ मा उमेर नपुग्दै ९० प्रतिशत किशोरीको विवाह
प्रदेश २ मा ९० प्रतिशत किशोरीको उमेर नपुग्दै विवाह हुनेको भयावह तथ्यांक सार्वजनिक भएको छ । बालविवाह न्यूनीकरणका लागि कार्यरत गैरसरकारी संस्था लाइफ नेपालले गरेको एक अध्ययनबाट प्रदेश २ मा ९० प्रतिशतको २० वर्ष उमेर नपुग्दै विवाह हुँदै आएको पाइएको हो ।
तथ्यांकअनुसार ती किशोरी २० वर्ष नपुग्दै आमासमेत बन्ने गरेका छन् । १७ प्रतिशत विवाहिता किशोरी १८ वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमा बढी विवाह हुने गरेको छ ।
प्रदेश २ मा १० वर्षमाथिका करिब १३ लाख अविवाहित महिला र पुरुष छन्, जसमध्ये ७ लाख ५० हजार पुरुष र बाँकी महिला छन् । त्यस्तै औसतमा महिला १८ वर्ष र पुरुष २२ वर्ष ५ महिनासम्म अविवाहित रहने गरेका छन्, जुन राष्ट्रिय औसत उमेरभन्दा कम छ । दक्षिण एसियामा सबैभन्दा बढी बालविवाह हुने बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा छ । विश्वमा बालविवाह हुने देशमध्ये नेपाल १०औं स्थानमा आउँछ ।
बालसंरक्षण नीति तथा बालविवाहमुक्त स्थानीय तह घोषणासम्बन्धी कार्यशालामा लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुरले धनुषामा ४९ प्रतिशतको १५ देखि १९ वर्षको उमेरमा विवाह हुने गरेको तथ्यांक प्रस्तुत गरे । धनुषाका १० वटा स्थानीय तहमा लाइफ नेपालले बालविवाहको अवस्थाबारे सर्भे गरेको थियो ।
जनकनन्दनी गाउँपालिकामा सबैभन्दा बढी ६५.१९ प्रतिशत बालविवाह हुँदै आएको सर्वेक्षणले देखाएको छ भने सबैभन्दा कम मिथिला नगरपालिकामा १५ प्रतिशत बालविवाह हुँदै आएको छ । त्यस्तै शहिदनगरमा ६३.३३, मिथिलाविहारीमा ५७.१४, सवैलामा ५२.६३, धनुषाधाममा ४७.३७, जनकपुरधाममा ४४.४४, क्षिरेश्वरनाथमा ३७.५० र लक्ष्मीनियाँमा ३२ प्रतिशत बालविवाह हुदै आएको पाइएको लाइफ नेपालका कार्यकारी निर्देशक ठाकुरले जानकारी दिए ।
कार्यक्रममा सवैला नगरपालिका प्रमुख विजयशंकरप्रसाद साहले बालविवाह रोक्न वडा सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्यदेखि कर्मचारीको टिम र राजनीतिक दलको सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याए ।
यो पनि पढ्नुहोस्
प्रकाशित समय ०७:२४ बजे

















