गृहपृष्ठ ‘जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहास बिर्सनु हुन्न’

‘जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहास बिर्सनु हुन्न’

दिवसहरुलाई जनताका कार्यक्रमको रुपमा मनाउन आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताएका छन् । गृह मन्त्रालयमा आज ७०औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट गरे ।

आफ्नो सभ्यताको राम्रा पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अग्रजको सम्मान गर्न आग्रह गरे । राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसंग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताए । उनले भने, ‘तत्कालीन समयमा कालु पाँडे काटिए, छोरा दामोदर पाँडे पनि काटिए, भीमसेन थापा रेटिएर मारिए, उनका बाबु अमरसिंह थापा अलपत्र भएर हराए, जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहासलाई बिर्सनुहुन्न ।’

प्रधानमन्त्री ओलीले इतिहास र पुर्खाको बलिदानलाई कर्मकाण्डी बनाउनु नहुने बताउँदै भने, ‘हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौँ, त्यसैले इतिहासप्रति गर्व गर्न सिकौँ ।’ उनले प्रजातन्त्र दिवसमा हरेकको घरमा दीपावली होस् भन्ने कामनासमेत गरे । पालिका, वडा, विद्यालय र संघ संस्थाको तहमा समेत दिवस मनाउनुपर्ने उनको सुझाव थियो । दिवसहरु बढी सरकारी कार्यक्रमजस्तो देखिएकाले जनताका कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

२००७, २०४६, २०६२/६३ साल र वर्तमान संविधान नबुझी नेपाल नबुझिने तर्क गर्दै प्रधानमन्त्री ओलीले हाम्रा सन्ततिलाई त्यस्ता इतिहास बुझाउनु जरुरी रहेको औँल्याए । सात साल भनेको साल मात्रै नभई समाज परिवर्तनको एउटा खास परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसले हाम्रो समाजलाई एउटा अन्धकार युगबाट आधुनिक युगमा प्रवेश गरायो ।’

संस्कृतिलाई बिगार्न हुन्न

प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुनेमा जोड दिए । सञ्चारमाध्यमबाट समाचारमा छापिएको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताए ।

उनले भने, ‘हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अंग्रेजीमा कपी गरेर मिस्टर/म्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ, त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।’ तपाईं भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने संगठित प्रयास भएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गरे ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु