गृहपृष्ठ ‘नेपाल सिमेन्टमा आत्मनिर्भर’
‘नेपाल सिमेन्टमा आत्मनिर्भर’
सिमेन्ट उत्पादक संघले नेपाल सिमेन्टमा पूर्णतः आत्मनिर्भर भएको बताएको छ । राजधानीमा बुधबार आयोजित ‘सिमेन्ट कंक्रिट पेभमेन्ट फर रोड’ विषयक कार्यक्रममा संघका अध्यक्ष ध्रुवराज थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर हुनुको श्रेय भने तीनै तहका सरकारलाई दिए । ‘केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पूर्ण सहयोग भएका कारण यो अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘हामी उद्योगी पनि सरकारको नारा सफल बनाउन पूर्ण प्रतिबद्ध छौं ।’
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार सिमेन्ट उद्योगीसँग साझेदारीमा काम गर्न तयार रहेको बताएका छन् । ‘राज्यको मात्र एकल प्रयासले विकास हुँदैन,’ उनले भने, ‘गुणस्तरीय भौतिक पूर्वाधारले मात्र समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन्छ ।’
संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले सरकारले स्वदेशी सिमेन्टको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सिमेन्ट भौतिक पूर्वाधारको मेरुदण्ड र आर्थिक विकासको आधार भएको उनको भनाइ छ ।
केही वर्षयता ठूला आयोजना र बहुतले भवनमा नेपाली सिमेन्टको प्रयोग बढ्दै गएको छ । फलतः भारतलगायत तेस्रो मुलुकबाट सिमेन्ट तथा क्लिंकर आयात घट्दै गएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ३० अर्ब २० करोडको सिमेन्ट क्लिंकर आयात भएकोमा गत वर्ष ११ अर्ब ६७ करोड रुपैयाँको मात्र आयात भएको छ, जुन ६१.३ प्रतिशत कम हो ।
चालू आवको पहिलो पाँच महिनामा सिमेन्ट र सिमेन्ट क्लिंकर दुवैको आयात उल्लेख्य घटेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकअनुसार पाँच महिनामा सिमेन्ट क्लिंकर आयात ७७.१ प्रतिशतले घटेको छ । गत वर्षको साउनदेखि मंसिरसम्ममा ७ अर्ब ५५ करोडको क्लिंकर आयात भएकोमा चालू आवको सोही अवधिमा १ अर्ब ७३ करोड ११ लाख रुपैयाँको मात्र क्लिंकर आयात भएको छ ।
त्यस्तै, गत आवको पहिलो पाँच महिनाको तुलनामा सिमेन्ट आयात पनि ४८ प्रतिशतले घटेको छ । गत आवको साउनदेखि मंसिरसम्ममा ५० करोड ९ लाखको सिमेन्ट भित्रिएकोमा चालू आवको सोही अवधिमा २६ करोड ४ लाख रूपैयाँको मात्र सिमेन्ट भित्रिएको छ ।
प्रकाशित समय १६:२२ बजे


















