गृहपृष्ठ बाबुराम भट्टराई भन्छन्‑ गिरिजाबाबुले फौजी आक्रमण गरिदिनुपर्यो भनेकै हो
बाबुराम भट्टराई भन्छन्‑ गिरिजाबाबुले फौजी आक्रमण गरिदिनुपर्यो भनेकै हो
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले ‘गिरिजाबाबुले फौजी आक्रमण गरिदिनुपर्यो’ भनेको बताएका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभामा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको डा. भट्टराईले पुस्ट्याइँ गरिदिएका हुन् ।
प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको बताएका थिए । उनले भनेका थिए, ‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो, यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’
प्रचण्डको अभिव्यक्तिसँगै सामाजिक सञ्जाल गर्माएको छ भने कांग्रेसले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ । भट्टराईले ट्विट गरेका छन्‑ ठाउँ हेरेर त्यहीँको भाकामा गाउने र बढाइचढाइ ढंगले विषय प्रस्तुत गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली हो ! जहाँसम्म गिरिजाबाबुको प्रसंग छ- त्यो सधैँ होइन तर २०६२ मंसिरमा १२ बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेका बेला त्यसलाई बिथोल्न आग्रह गर्नुभाको हो !
प्रकाशित समय ११:२४ बजे

















