गृहपृष्ठ अर्कैलाई भाषा परीक्षा लेख्न लगाई कोरिया पुगेकाहरू पक्राउ पर्दै
अर्कैलाई भाषा परीक्षा लेख्न लगाई कोरिया पुगेकाहरू पक्राउ पर्दै
नक्कली परीक्षार्थीलाई परीक्षा दिलाई कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरेको छ । इपीएस भाषा परीक्षामा अनुहार मिल्ने नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाएर पास गरी कोरिया पुगेका नेपालीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुलाई सुरक्षा संवेदनशीलताका विविध विषयमा अनुसन्धान गरेर नेपाल डिपोर्ट गर्ने गरिएको अध्यागमन कार्यालयले जनाएको छ । अर्कैलाई परीक्षामा लेख्न लगाइ काेरिया पुगेको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गरी छानबिन गर्दा यसरी आउने नेपालीको संख्या ठूलो हुन सक्ने भन्दै सरकारले छानबिन सुरु गरेको थियो ।
पक्राउ परी डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएकादेखि साढे तीन वर्ष बसेकासम्म रहेको कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन (एमटीयू)का अध्यक्ष उदय राईले बताएका छन् ।
परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया पुगेका नेपालीलाई सोझै नेपाल डिपोर्ट गर्ने गरेको भए पनि अर्काको परीक्षा दिनेहरुलाई भने विभिन्न सुरक्षासम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको अध्यागमन कार्यालयको भनाइ छ ।
प्रकाशित समय १९:११ बजे

















