गृहपृष्ठ प्रदेश २ को नाम मधेश नै हुने मुख्यमन्त्री राउतको दावी
प्रदेश २ को नाम मधेश नै हुने मुख्यमन्त्री राउतको दावी
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ हुने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने विषयमा पनि दलहरुबीच एक चरणको सहमति भइसकेको बताए ।
प्रदेशको नामकरणबारे दलहरुबीच छलफल भइरहेको भए पनि नाम भने ‘मधेश प्रदेश’ नै हुनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री राउतको भनाइ थियो । उनले प्रदेश सरकार परिवर्तन हुने विषयमा चलेको हल्लामा कुनै सत्यता नभएको बताए । ‘यो सरकार नै ५ वर्षसम्म चल्छ । राजपाको साथ र सहयोगमा सरकार ५ वर्षसम्म चल्नेमा कुनै आशंका छैन,’ उनले भने । संघीयतालाई कमजोर गर्ने शक्तिहरु सक्रिय रहेको बताउँदै उनले राजपा नेपालका नेताहरु यस विषयमा सचेत रहेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश २ सरकार गठन भएको २ वर्षमा सरकारले गरेको काम कारबाहीबाट आफू सन्तुष्ट रहेको बताएका छन् । उनले भने, ‘सरकारले गर्नुपर्ने धेरै काममा समस्या छ । कर्मचारी अभावका बीच जे–जति कार्यसम्पादन भए, त्यो सन्तोषजनक छ ।’ बाँकी ३ वर्षमा समृद्ध प्रदेश बनाउने योजनाहरु ल्याउन आफूहरु लागेको उनले बताए ।

मुख्यमन्त्री राउतले प्रदेश २ सरकारबाट गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत भएका कामहरुको बाँकी रकम चाँडै निकासा गरिने बताए । कर्मचारी अभाव, संघीय सरकाबाट अपेक्षा गरिएअनुसार सहयोग नपाउनु, प्रदेश सरकार सञ्चालनको नयाँ अनुभव, नीतिगत कमजोरी लगायतका कारणले गर्दा विभिन्न संस्था, समिति तथा निकायबाट सम्पन्न कामको भुक्तानीमा केही ढिलाइ भएको उनको भनाइ थियो ।
प्रकाशित समय १८:२२ बजे

















