गृहपृष्ठ धर्म परिवर्तन रोक्न सरकार असमर्थ भयो : कमल थापा
धर्म परिवर्तन रोक्न सरकार असमर्थ भयो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन् । सोमबार पोखरामा आयोजित मिडिया नेपाल गण्डकी प्रदेश समितिको घोषणा सभामा बोल्दै अध्यक्ष थापाले नेपाली जनताको बहुमतप्राप्त सरकार गिराउन देशी-विदेशी शक्ति लागिपरेको बताए ।
यो विषयहरु प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकारेको अध्यक्ष थापाको भनाइ थियो । थापाले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग सरकार परिवर्तनको संकेत गरिसकेका छन् ।’ देशमा राजनीतिक स्थिरता नचाहने शक्तिहरु सरकार परिवर्तनको खेलमा लागेको थापाले बताए । ‘ओली सरकार बाह्य शक्तिको दबाव र प्रभावमा परेको छ,’ उनले आरोप लगाए ।
नेपालमा धर्म परिवर्तन व्यापक रुपमा बढेको भन्दै यसलाई रोक्न सरकार असमर्थ भएको थापाले बताए । ‘सरकारले मिडियालाई कुण्ठित गर्नेभन्दा पूर्ण स्वतन्त्र छाड्नुपर्छ,’ थापाले भने, ‘नेपालमा प्रजातन्त्रको स्थापनादेखि नै देशको अर्थतन्त्रमा मिडियाले सशक्त आवाज उठाउँदै आएको छ । मिडिया क्षेत्रलाई कुनै शक्तिले दबाव र प्रभावमा राख्न हुँदैन ।’
जनताले बहुमतप्राप्त सरकारको पालामा देशमा भष्ट्राचार, बेरोजगारी बढेको थापाले बताए । सरकार गठन भएको दुई वर्ष पुगे पनि नेपाली जनताले शान्ति र विकासको अनुभूति गर्न नपाएकोसमेत उनको भनाइ थियो ।
मिडिया नेपालको ५ निर्णय
राप्रपासम्बद्ध पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय बैठकले पाँच निर्णय गरेको छ । बैठकले न्यूनतम पारिश्रमिक कार्यन्वयन गर्न तथा २५ वर्ष निरन्तर पत्रकारितामा गरेका श्रमजिवी पत्रकारहरुलाई राज्यले पेन्सन वा सो सरहको सुविधा प्रदान गर्न सरकारसँग माग गरेको छ ।
बैठकले गण्डकी प्रदेश संयोजकमा सुर्य बास्तोला, उपाध्यक्षमा श्याम खवास र कृष्ण केसी, सचिवमा विष्णु पौडेल र कोषध्यक्षमा बद्रीराज गौतम चयन गरेको छ । त्यसैगरी प्रदेश ५ बाट उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णालीबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषध्यक्षमा राधिका जोशी, काठमाडौँ उपत्यका संयोजकमा दिपेश राजथारुलाई मनोनयन गरेको छ ।
प्रकाशित समय १३:०१ बजे

















