गृहपृष्ठ कञ्चनपुरको बेलडाँडीबाटै मन्त्री बाँस्कोटाले भने‑ प्रमाणित भए सजाय भोग्न तयार छु
कञ्चनपुरको बेलडाँडीबाटै मन्त्री बाँस्कोटाले भने‑ प्रमाणित भए सजाय भोग्न तयार छु
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले काठमाडौं फर्किएपछि मात्र सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिने बताएका हुन् ।
सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाँउला ।’
मन्त्री बाँस्कोटा बुधबारदेखि महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न आएका थिए । उनी बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट नगरी काठमाडौं फर्किएका छन् ।
प्रकाशित समय ११:४७ बजे

















