गृहपृष्ठ साताको सेयर : इतिहास कायम गर्दै बजार उकालो लागेपछि लगानीकर्ता थपिए
साताको सेयर : इतिहास कायम गर्दै बजार उकालो लागेपछि लगानीकर्ता थपिए
लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेण्ड’ पछ्यायो । बजार उकालो लागेर डेढ वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता सेयर कारोबार भए । बजार ओरालो लागेर न्यून बिन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोबारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।
साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अंकले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका सेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता सेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोबार भए ।
सोमबार नेप्से परिसूचक आज ३४ अंकले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ बिन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोबार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता सेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिदबिक्री भए ।
मंगलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने रु दुई अर्बमाथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता सेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोबार भयो ।
बुधबार नेप्सेमा ५.२४ अंकले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता सेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिदबिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो ।
लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो । त्यस दिन नेप्सेमा २९.३२ अंकले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता सेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिदबिक्री भए । (रासस)
प्रकाशित समय १५:४३ बजे

















