गृहपृष्ठ दैलेखको राकममा ‘ट्रमा सेन्टर’ बन्ने
दैलेखको राकममा ‘ट्रमा सेन्टर’ बन्ने
सांकेतिक तस्बिर
दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० श्ययाको ‘ट्रमा सेन्टर’ (अस्पताल) निर्माण हुने भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबीच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ ।
नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा संघीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।
‘तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्यावलगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ,’ उनले भने । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्देशक गोसाईले जानकारी दिए ।
अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । (रासस)
प्रकाशित समय ०७:४९ बजे

















