गृहपृष्ठ आहा रारा गोल्डकप : आयोजक सहाराको विजयी सुरुआत
आहा रारा गोल्डकप : आयोजक सहाराको विजयी सुरुआत
उद्घाटन खेलमा बिग्रेड ब्वाइजलाई ३-२ गोलले पराजित गर्दै आयोजक सहारा क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको अर्को चरणमा प्रवेश गरेको छ । अतिरिक्त समयमा सहाराका त्रिदेव गुरुङले उत्कृष्ट हेडरमार्फत गोल गरेपछि बिग्रेडको क्वाटरफाइनल सपना अधुरो रह्यो ।
आहा रारा गोल्डकपमा आफ्नो पहिलो सहभागितालाई अविष्मरणीय बनाउन सुखद सुरुआत गर्ने बिग्रेडको योजना सफल भएन । उत्कृष्ट पुनरागमन गरेको सहाराले बराबरी गोल फर्काएको खुशीयाली भने एक मिनेटभन्दा बढी टिकाउन सकेन ।
सबै गोल दोस्रो हाफमा सम्भव भयो । ५८औं मिनेटमा अफ्रिकन खेलाडी कजिम ए बुसारीको पासमा अनमार्क रहेका राजेश परियारले ‘क्लिनिकल्ली फिनिसिङ’ गर्दै ब्रिगेडलाई अग्रता दिलाए । ६१औं मिनेटमा फ्रिकिकलाई सदुपयोग गर्दै सहाराले बराबरी गोल फर्काएको थियो । कमल थापाको फ्रिकिकलाई अफ्रिकन खेलाडी सेई उरिचले हेडरमार्फत जाली चुमाएपछि सहारा खेलमा फर्कियो ।

त्यसको १ मिनेट पनि बित्न नपाउँदै ब्रिगेडका विजय गुरुङले अर्को गोल थप्दै २-१ को अग्रता दिलाए । ७९औं मिनेटमा सहाराले गोल फर्काउँदै बराबरी बनायो ।निर्धारित समय २-२ गोलको स्थितिमा टुंगिएको थियो । अतिरिक्त समयमा फ्रिकिकलाई सदुपयोग गर्दै निर्णायक गोल गरेपछि सहाराले जित सुनिश्चित गरेको हो ।
शुक्रबारको खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र झापा- ११ बीच हुने छ ।
प्रकाशित समय १९:४० बजे

















