गृहपृष्ठ नेकपा सचेतक रावललाई चार दिन हिरासतमा राख्न अनुमति
नेकपा सचेतक रावललाई चार दिन हिरासतमा राख्न अनुमति
बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य अक्कल रावललाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । रावलविरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेपछि बुधबार प्रहरीले उनलाई हिरासतमा राखेको थियो ।
बिहीबार कैलाली अदालतमा भएको बहसपछि उनलाई अनुसन्धानका लागि हिरासतमै राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा भएको बहसपछि उनलाई हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार रैभान कुन्जेडाले बताए । २१ गतेदेखि लागू हुनेगरी रावललाई चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको उनले जनाए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिमका सचेतक रावल एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा बुधबार पक्राउ परेका थिए । धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् । प्रदेश सभा सदस्य रावलविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो ।
जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जबर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् । रावल आफ्नाविरुद्ध उजुरी परेपछि त्यसबारे बुझ्न बुधबार आफैं जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताइएको छ । महिलाको उजुरीपछि पक्राउ पुर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । रावलमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको बस्नेतले बताए । उक्त मुद्दामा आरोप पुष्टि भए साढे तीनदेखि पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।
रावल अछाम क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । बलात्कार प्रयासको आरोप लगाउने महिलाले भान्जीको नाता लगाएर नेकपा सुदूरपश्चिमका सांसद रावलले दुस्प्रयास गरेको बताएकी छन् । पीडित महिलाले माघ २१ गते कोठामै आएर रावलले जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाएकी हुन् ।
यसअघि नेकपाबाट निर्वाचित सांसद तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घ सोडारी महिलासँगको अनैतिक सम्बन्धकै कारण मन्त्रीबाट बर्खास्त गरिएका थिए ।
प्रकाशित समय ११:१४ बजे

















