गृहपृष्ठ नेतालाई जुत्ता होइन, मतपत्रको प्रहार
नेतालाई जुत्ता होइन, मतपत्रको प्रहार
लोकतन्त्रमा खुट्टा भए जुत्ता कति कति
फेरि उनै नेता कसरी आउँछन् चुनाव जिती ?
लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो- जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने । अपेक्षित काम नगरे वा सुशासन र समृद्धितर्फ देशलाई लैजान नसके वा भ्रष्टाचार, नातावाद, कृपावाद र दलाल पुँजीवादीलाई आश्रय दिइरहे अर्को आवधिक निर्वाचनमा जनताले सक्षम वैकल्पिक नेता चुन्ने ।
नेपालमा न सुशासन, समृद्धितर्फ देश बढ्यो न त जनहितमा काम भयो । तर पनि विगत ३० वर्षमा विभिन्न वाद, पार्टी र नारा लिएर विभिन्न मुकुन्डो लगाई उनै अनुहार राजनीति र देश दोहनमा सक्रिय छन् । एकचोटि सत्तामा पुगेका परिवारका सदस्य प्रायः अर्बपति छन् आज । जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिको सेना, प्रहरी र व्यापारदेखि दलालीसम्म हालीमुहाली छ । हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन् ।
जत्ति धारिलो हिजो तरबार, उत्ति ठूलो आज घरबार
अब त सत्ता नि उनकै, कसले गर्ने प्रतिकार ?
अख्तियार देखि बालुवाटार हुँदै सिंहदरबार
घरदैलोमा गा’छ भन्छन् आजकल भ्रष्टाचार
शिक्षा, स्वास्थ्य, पूर्वाधार बन्यो माफिया बजार ।
बारम्बार यिनै पात्र कसरी सत्तामा पुग्छन् ? किनकि हामीले प्रश्न गरेनौँ ।
घरदैलोमा आउने हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर केही वर्षमै काठमाडौंमा महल कसरी बने ? वादका भर्याङ चढेर सत्तासीन भएका र आफैंलाई समाजवादउन्मुख कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डा र हत्याराहरूको संरक्षक किन बनेको छ ? नेताहरूलाई आफू र आफ्नो परिवारको उपचार गर्न सिंगापुर र अमेरिका जाँदा जनता सिटामोल नपाई मर्ने अवस्थामा भएको स्मरण हुन्छ कि हुँदैन ?
के छ नेताज्यू आजकल तिम्रो हाल खबर ?
भोट दिने त गाउँमै छुटे, तिमी पस्यौ सहर ।
जनताबाट सिंहदरबार भयो टाढा टाढा
कहिले आउँछ तिमीलाई, रुकुम-रोल्पा नजर ?
देशमा उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना, अनि भ्रष्टाचार उन्मूलन गर्न व्यक्तिगत र सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्छ । स्कुल, कलेज, विश्वविद्यालय, गुठी, अस्पताल अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थालाई राजनीति अनि विभिन्न दलीय संगठनमुक्त बनाइनुपर्छ । एक दशकअघि मात्र युवापुस्ताले पढ्न छोडेर उद्यमशीलता गुमाई आज परदेसिनुपरेको छ । अब हामी युवाले स्व-विवेक प्रयोग गर्नुपर्छ । राजनीतिले हाम्रो जीवनको हरेक पाटोलाई रंगाइदिएको छ भने अब हामीले यसलाई फोहोरी खेल भनेर टाढा बस्ने स्थिति छैन ।
विकृत राजनीतिविरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा सेयर गरेर वा कुनै नेतालाई जुत्ता/झाप्पड हानेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन । आउनुहोस्, लोकतन्त्रलाई संस्थागत गर्दै यो आक्रोश मतपत्रमा उतारौँ ।
किन सराप्छौ अब कल्लाइ गर्छौ धिक्कार ?
हिजोका तिम्रै भोटले आज बन्यो सरकार
जागौँ । खासगरी युवापुस्ताले अब सचेत हुनैपर्छ । हामीले सधैँ ‘हाम्रो’ पार्टीलाई मत दियौँ‑ राम्रो परिपाटी त्याग्यौँ । हामीले राम्रो उम्मेदवारलाई मात्रै हाम्रो मत दिएको भए आज सबै पार्टीले राम्रा उम्मेदवारलाई मात्रै टिकट दिने थिए । अब आस्थाको होइन, आशाको आधारमा मत दिऔँ । म आफ्नो ‘तैँ गर डर्टी पोलटिक्स सुड्डा, म त बालै दिन्न’ भन्ने कविताका केही पङ्क्ति उद्धृत गर्दै मेरा युवा साथीहरूलाई देशको स्थितिप्रति सचेत भई देश समृद्ध बनाउन रचनात्मक भूमिका खेल्न आग्रह गर्दैछु ।
एउटा कुरा याद राख मेरा युवा मित्र
बदल्नु छ भने देशको मानचित्र
आँखा खोली हेर के हुँदैछ हाम्रो देशभित्र
युवाले उद्यम नगरे देश समृद्ध हुन्न
आफ्नो सोच नबदली अब देश बदलिन्न
त्यसैले, नभन युवामित्र पोलटिक्सलाई म बालै दिन्न ।
राजनीतिमा चासो भनेको युवा मित्र झोले बन भनेको होइन । युवाहरू हनुमान बन्ने कि क्षमतावान् ? अब दलगत स्वार्थबाट माथि उठी राष्ट्र हितको बारेमा सोच्नैपर्छ ।
चन्द्र-सूर्य झन्डा फहराऊ
फाल साला झोलाहरू
यही पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू
उजाड भए उर्वर बारी
विदेश उडे भोलाहरू
अब त अत्ति भो तोड
अरिंगालका गोलाहरू
खेर जान नदेऊ युवाका
रगत-पसिनाका खोलाहरू
अब लोकतन्त्र संस्थागत गरी देशलाई प्रजातान्त्रिक समाजवादको परिष्कृत रूप कल्याणकारी लोकतन्त्रतर्फ उन्मुख गराउन अर्को वैचारिक क्रान्ति हुन जरुरी छ । अब हाम्रा छोडी राम्राको चयन नगरी परिवर्तन हाम्रै जीवनकालमा सम्भव छैन । अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत, र विसंगतिको राजनीतिलाई उखेलेर फाल्ने क्रान्ति बुलेट होइन, ब्यालेटमा हुन जरुरी छ । युवाले अराजक र विध्वंसकारी आन्दोलनमा आफ्नो ऊर्जा र समय खर्ची देशको भौतिक संरचनाको क्षति पुर्याउने काम कदापि गर्नु हुन्न ।
मेरो अनुरोध, लोकतन्त्रमा अब जुत्ता खेर नफालौं, हड्ताल गरी सडकमा टायर नबालौं ।
(बझाङको खप्तडछान्ना ५ पिठातोला घर भएका जोशी युनिभर्सिटी अफ म्यसाचुसेट्स अमेरिकामा रसायनशास्त्रमा विद्यावारिधि गर्दैछन् ।)
प्रकाशित समय ११:०० बजे

















