गृहपृष्ठ कोरोना प्रभाव : विद्यालय र क्याम्पस तत्काल बन्द गराउन माग
कोरोना प्रभाव : विद्यालय र क्याम्पस तत्काल बन्द गराउन माग
सांसदहरूले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गराउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन तत्काल बन्द गराउन माग गरेकी हुन् ।
नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहे पनि लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेको भन्दै उनले उच्च सतर्कता अपनाउनुपर्ने बताइन् । जिल्ला प्रशासन कार्यालय र सरकारले पनि भीडभाडमा नजानु, घरबाट बाहिर ननिस्कनु भनेकाले विद्यालय र क्याम्पस तत्काल बन्द गरिनुपर्ने उनको माग छ ।
‘हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले भीडभाडमा नजानु, घरबाट बाहिर ननिस्किनु भनेर सर्कुलर जारी गरेको परिपत्रहरू हामीले पढ्न पायौं, एकातिर जिल्ला प्रशासनको यो सर्कुलर छ भने अर्कातिर लाखौं हाम्रा बालबालिकाहरू स्कुल जान बाध्य भइरहेका छन्, चैत्र ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्कोतर्फ सूचना आइरहेको छ,’ उनले भनिन्, ‘एकातिर जिल्ला प्रशासनको सर्कुलर र अर्कातिर बालबालिका यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, यसकारण स्कुल र कलेजहरु तत्काल बन्द गर्न निर्देशन दिन आग्रह गर्छु,’ उनले भनिन् ।
प्रकाशित समय ११:४९ बजे

















