गृहपृष्ठ मेलापात र चुलोचौकामै सीमित रहिनन् कौशिला
मेलापात र चुलोचौकामै सीमित रहिनन् कौशिला
श्रीमानको प्रेरणाले अघि बढ्दै
श्रीमानसँग काैशिला ।
सुदूरपश्चिमका अधिकांश गाउँबस्तीमा महिलाहरुको दैनिकी मेलापात र चुलोचौकामै सीमित छ । दिनभरी खेतबारीमा व्यस्त हुनु, घाँस दाउरा जुटाउनु, धुवाँमा रुमल्लिँदै परिवारका लागि खाना बनाउनु उनीहरुको साझा दिनचर्या हो ।
तर यसमध्ये पनि आफ्नो पृथक परिचय बनाएकी छन्, कौशिला भट्टले । उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी हुन् । उनले गत माघ २४ मा यातायात कार्यालय महेन्द्रनगरबाट ‘जे २’ वर्गबाट स्काभेटर चालक अनुमति पत्र पाएकी छन् ।
‘माघ १८ गते लिखित परीक्षा थियो, त्यसमा उत्तीर्ण भएँ । २४ गते ट्रायल दिएँ, त्यसमा पनि पास भएँ,’ उनले भनिन् । लाइसेन्स लिएपछि स्काभेटर चालक बन्ने सपना पूरा भएको उनले बताइन् ।
बैतडीको दोगडाकेदार गाउपालिका- ७, चडेपानी (तल्लाकोडा) उनको माइती हो । कैलालीको सहजपुरका पुष्पप्रसाद जैशीसँग चार वर्षअघि विवाह गरेकी उनलाई स्काभेटर चालक बन्न श्रीमानले नै प्रेरित गरेका हुन् ।
पुष्पप्रसाद विगत १२ वर्षदेखि विभिन्न निर्माण कम्पनीमा स्काभेटर चालकका रुपमा कार्यरत छन् । महिलालाई चुलोचौकामा मात्रै सीमित राख्नुहुन्न भन्ने आफ्नो मान्यता भएको र सोही कारण श्रीमतीलाई पनि आफूले यस पेशामा लाग्न उत्प्रेरित गरेको जैशीले बताए । ‘स्काभेटर चलाउन पनि मैले नै सिकाएँ । छोटो समयमै उनले सिकिन्,’ निकै खुशी हुँदै जैशीले भने, ‘अहिले उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी छन् ।’
महिलाले मोटरसाइकल चलाएको देख्दासमेत छक्क पर्ने समाज हो सुदूरपश्चिमको । यस्तै अवस्थालाई चिर्दै कौशिला सुदूरपश्चिमकै पहिलो स्काभेटर चालक बन्न सफल भएको सेती यातायात कार्यालयका निमित्त प्रमुख वीरबहादुर ऐरले बताए । ‘हाम्रो कार्यालयबाट उहाँअघि महिलाले स्काभेटर चालक अनुमतिपत्र लिएको अभिलेख छैन,’ ऐरले भने ।
सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलाली र महेन्द्रनगर यातायात कार्यालयबाट मात्रै सवारी अनुमतिपत्र वितरण हुन्छ । महाकाली यातायात कार्यालयका निमित्त प्रमुख कविन्द्र ओझाले पनि अहिलेसम्म कौशिलाबाहेक अन्य महिलाले स्टाभेटर चलाउने इजाजत नलिएको बताए ।
प्रकाशित समय १७:१४ बजे

















