गृहपृष्ठ किन छोडे विदेशी कूटनीतिज्ञले उत्तर कोरिया ?

किन छोडे विदेशी कूटनीतिज्ञले उत्तर कोरिया ?

कोरोना भाइरसको संक्रमण फैलिने आशंकामा उत्तर कोरियामा केही हप्तादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् ।

उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ ।

उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन् । फेब्रुअरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन ।

‘बाध्यकारी’
कोरोना भाइरस संक्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो । रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति ‘बाध्यकारी’ भएको टिप्पणी गरेका छन् ।

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमण फेला परेको पुष्टि भएको छैन । तर केही विज्ञहरू त्यसप्रति शंका व्यक्त गर्छन् । उत्तर कोरियाको सीमा कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ ।

उडान प्इच्द्दठज्ञ स्थानीय समायानुसार बिहान ८ः४० बजे प्योङ्‌याङबाट उडेको र भ्लादिभोस्तिकमा १०ः४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ ।

उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ । उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन ।

धेरै दूतावास बन्द

उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै ‘जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई’ बिदा गर्दा आफू दुःखी भएको लेखेका छन् ।

राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ । उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्वीटरमा प्रेषित गरेका छन् ।

उत्तर कोरिया सरकारले झन्डै ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारेन्टाइनमा बस्न लगाएको थियो । तीमध्ये अधिकांश प्योङ्‌याङस्थित विदेशी नियोगमा कार्यरत कूटनीतिज्ञ र कर्मचारी थिए ।

तर हिँडडुलका लागि लगाइएको प्रतिबन्ध गत साता फुक्का भयो । विदेशी दूतावासका केही कर्मचारी र तिनका परिवार प्योङ्‌याङस्थित विमानस्थलमा स्वीडनका राजदूत योआखिम ब्यार्गस्टोर्मले आफ्नो सेल्फीसहित ट्वीटरमा लेखेका छन्, ‘म यसअघि किम इल सङ स्क्वाएरमा उभिँदा यति खुसी भएको थिइनँ ।’

तर अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीय बासिन्दासँग भेटघाट गर्न नदिइएको एनके न्यूजले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तर कोरियामा ठूलो महामारी फैलिए बिरामीको उपचार गर्न पर्याप्त क्षमता नभएको आशंका व्यक्त गरिएको छ ।

अहिलेसम्म विश्वभरि १ लाख ७ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण र झन्डै ३ हजार६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । (बीबीसीबाट)

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु