गृहपृष्ठ मुख्यमन्त्री राउतलाई ‘महामुर्ख’को मानपदवी

मुख्यमन्त्री राउतलाई ‘महामुर्ख’को मानपदवी

भने- यो क्षण मेरो लागि अविस्मरणीय

मिथिला नाट्य-कला परिषद (मिनाप)ले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमार्फत यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’को मानपदवीले सम्मान गरिएको छ ।

करिब २४ वर्षदेखि जनकपुरमा आयोजना गर्दै आएको होली महोत्सव तथा महामूर्ख सम्मेलनमा समाजका लागि अग्रणी भूमिका निर्वाह गर्ने १४ विशिष्ट व्यक्तिलाई व्यंग्यात्मक शैलीमा महामूर्खदेखि वंशकुरहैरसम्मका मानपदवीले सम्मान गर्ने परम्परा छ ।

मिनापद्वारा आयोजित महामुर्ख सम्मेलनमा भभकौवाको मानपदवीले प्रदेश सांसद परमेश्वर साहलाई सम्मान गरिएको छ । प्रदेश सांसद मनिष सुमनलाई पटमुर्ख, प्रदेश सांसद रामआशिष यादवलाई हराशंख, प्रदेश सांसद रामचन्द्र मण्डललाई सिलौट शंकर, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झालाई टुनमुसरी मानपदवीले सम्मानित भएका छन् ।

 साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीलाई खापसुरत, संकटमोचन देवशरण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बलराम साहलाई बज्रकिट सम्मान प्रदान गरिएको छ ।

साहित्यकार पुनम झा मैथिललाई अदलबदली, कांग्रेस नेता जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोरहाशंकर र सामाजिक अभियन्ता सुशिल कर्ण वंश कुरहैरको मानपदवीले विभूषित भए । सम्मानित व्यक्तिलाई मिनापका अध्यक्ष परमेश झा र पूर्वअध्यक्ष सुनिल मल्लिक लगायतले मानपदवी प्रदान गरे ।

सम्मानित हुने व्यक्तिहरुलाई तराई मधेसमा पाउने तरकारीको मालाका साथै व्यंग्यात्मक चित्र भएको टोपी, गम्छा र सम्मानपत्रले सम्मान गरिएकोे छ । कलाकारहरुले व्यंग्यात्मक तथा आलोचनात्मक शैलीले आफूलाई यस वर्षको महामूर्खको उपाधि दिएर देश र प्रदेशप्रतिको दायित्वबोध गराएको मुख्यमन्त्री राउतले बताए । ‘यसरी व्यंग्यात्मक तरिकाले सम्मानित हुने पहिलोपटक मौका पाएको छु । यो क्षण मेरो लागि अविस्मरणीय रहने छ,’ उनले भने ।

जानकी मन्दिर परिसरमा आयोजित सम्मेलनमा विभिन्न कविहरुले व्यंग्यात्मक कविता पाठ गरेका थिए ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु