गृहपृष्ठ स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा !
स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा !
दाताको प्रतिक्षा गरिँदै
सांकेतिक तस्बिर
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन ।
एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो । विसं २०७४ असोज २९ गते प्रतिष्ठान बनेको थियो ।
हालसम्म प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न नसकेको र पुरानोलाई मर्मत गर्नसमेत नसकेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । ‘उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो,’ उनले भने, ‘तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुनसकेको छैन ।’
मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको समेत उनले बताए । ‘अहिले पुरानो एम्बुलेन्समर्मत गर्न सकिने अवस्था छैन, महंगो खर्च हुन्छ,’ उनले भने, ‘नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन ।’ उनका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ ।
निजी एम्बुलेन्समा आउँदाको पीडा
प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आएकी घोराहीका कल्पना केसीले महंगो भाडा तिरेर अस्पताल आउनुपरेको गुनासो गरिन् । उनले भनिन्, ‘प्रतिष्ठानले ऐम्बुलेन्स सञ्चालन गरेको भए केही सहज र सुलभ रकममा यहाँसम्म आउन सजिलो हुन्थ्यो ।’ रातको समयमा स्वास्थ्यमा जटिल समस्या आइहाले एम्बुलेन्स पाउन धौधौ पर्ने उनले जानकारी दिइन् ।
अहिले जिल्लामा तुलसीपुर अस्पताल प्रालिले मात्रै एम्बुलेन्स सेवा दिँदै आएको छ । (रासस)
प्रकाशित समय ०८:२० बजे

















