गृहपृष्ठ कोरोना महामारी : ईयू नेताहरू पनि भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै

कोरोना महामारी : ईयू नेताहरू पनि भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै

european union_news karobar

कोरोना भाइरस सङ्क्रमण थप फैलिनबाट रोक्ने र सङ्क्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ मंगलबार यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स (सम्मेलन) हुने भएको छ ।

‘भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस सङ्क्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ,’ यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले ट्वीटमार्फत जानकारी गराएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका (जी-७ राष्ट्र) का उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल हुने कार्यक्रम छ । परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको सङ्क्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ ।

सुरूमा चीनबाट पत्ता लागेको कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फी रूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने विषयमा भिडियो सम्मेलनमार्फत छलफल हुने तय भएको छ । यसका साथै सिमानामा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो ।

यसैबीच यूरो क्षेत्रमा एकल मूद्रा प्रयोगकर्ता मुलुकहरूको समूहका अर्थमन्त्रीहरूले पनि कोरोना भाइरस सङ्क्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई कसरी कम गर्ने भन्ने बिषयमा छलफल पनि सोमबार भिडियो सम्मेलनमार्फत गर्ने बताएइएको छ । उनीहरूले सङ्क्रमणका कारण पर्ने आर्थिक भारलाई कम गर्न वित्तीय प्याकेज बनाएर अघि बढ्ने बिषयमा छलफल गर्ने बताएका छन् । (रासस)

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु