गृहपृष्ठ मन्दीको त्रासले अमेरिकी सेयर बजारमा १० प्रतिशतको गिरावट
मन्दीको त्रासले अमेरिकी सेयर बजारमा १० प्रतिशतको गिरावट
कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको संकटकालीन कदमसँगै वाल स्ट्रिट स्टक मार्केटमा १० प्रतिशतको गिरावट आएको छ ।
विश्वभर फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै ०.२५ कायम गरेपछि आइतबार स्टक बजारमा तीव्र गिरावट आएको हो । अमेरिकाले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरेको छ । अमेरिकाको यो कदम बेलायत, जापान, युरो क्षेत्र, क्यानडा र स्विट्जरल्यान्डसँग गरिएको सहकार्यको एक अंश हो ।
फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर कम गर्न यो योजना ल्याइएको जानकारी गराएका छन् । उनका अनुसार ब्याजदर ० देखि ०.२५ को बीचमा राख्ने निर्णय भएको छ ।
आइतबार करिब २० मिनेटको कारोबारमै डो जोन्सको औद्योगिक कारोबार औसतमा २०६६९.४२ अंक अर्थात् १०.९ प्रतिशतमा झरेको थियो । त्यसपछिको १५ मिनेटमा भने स्टक कारोबारमा सामान्य सुधार देखिएको थियो ।
समग्रमा एस एन्ड पी को कारोबारमा १० प्रतिशत गिरावट भई २४२२.६९ अंक देखिएको छ भने प्रविधिमा सम्पन्न नासाक कम्पोजिट सूचकांकमा पनि १०.५ प्रतिशतको गिरावट भई ७०५१.७७ अंकमा सीमित भएको छ ।
एसिया र युरोपमा देखिएको सेयर बजारको गिरावटसँगै अमेरिकामा पनि सेयर बजारमा गिरावट सुरू भएको हो । खासगरी फ्रान्स र स्पेनमा कोरोनाभाइरसका कारण परेका असरहरूले अमेरिकी सेयर बजारमा पनि प्रभाव विश्लेषकहरूले बताएका छन् ।
यसअघि मार्च ३ मा पनि फेडले आपतकालीन रुपमा ब्याजदर ०.५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । यो सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको यो निर्णयले आफूलाई निकै खुसी बनाएको बताएका छन् । कोरोनाभाइरसको महामारी फैलिएसँगै सेयर बजार पनि उल्लेख्य घटेका छन् ।
प्रकाशित समय ०७:५० बजे

















