गृहपृष्ठ कोरोना त्रास : मनोवैज्ञानिक असर र चाल्नुपर्ने कदम

कोरोना त्रास : मनोवैज्ञानिक असर र चाल्नुपर्ने कदम

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ एक प्रकारको सरुवा रोग हो, जुन नयाँ कोरोनाभाइरसले उत्पादन गरेको हो । चीनको वुहानमा डिसेम्बर २०१९ मा यो भाइरस आउनु अगाडि यसको बारेमा केही जानकारी थिएन । अहिले छोटो अवधिमै यो भाइरसले विश्वलाई नै आफ्नो चपेटामा पारेको छ । २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रदेशको सदरमुकाम वुहानमा एउटा निमोनियाको केश आउँछ र यसको अनुसन्धान २०२० को जनवरीको सुरुमा गरिन्छ । यो केश वुहानको सामुद्रिक बजारसँग सम्बन्धित थियो, त्यसैले यो भाइरसलाई जनावरबाट आएको भाइरस भनेर विश्वास गरिन्छ । २०२० मार्च १३ को साउथ चाइना पोस्टका अनुसार २०१९ नोभेम्बर १७ मा हुवेइ प्रदेशका ५५ वर्षीय व्यक्तिमा नै कोरोनाको लक्षण देखिएको थियो र यो नै विश्वको पहिलो कोरोना केश हो तर यो पोस्टको पुष्टि भने भएको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस चीनमा घट्दै गएको छ भने अमेरिका, इटली, स्पेन जस्ता देशमा भयावह रुपमा बढ्दै गइरहेको छ । कोरोनाभाइरसको कुनै पनि व्यक्तिमा असर देखिनु र मृत्यु हुनुको बीचमा ६ देखि ४१ दिनको समय देखिएको छ । प्रायः असर देखिने समय भनेको १४ दिनको छ । २ अप्रिल २०२० को बिहानसम्ममा करिब ४७ हजार २४५ जनाको मृत्यु भइसकेको छ । चीनमा ८० प्रतिशत मृत्यु हुनेको उमेर ६० वर्षभन्दा माथि छ भने ७५ प्रतिशत मृत्यु भएका व्यक्तिमा मुटुसम्बन्धी तथा मधुमेहको रोग सुरुदेखि नै भएको अनुसन्धानले  देखाएको छ । यो रोगको कारणले पहिलो प्रमाणित मृत्यु ९ जनवरी २०२० मा वुहानमा भएको हो भने चीनबाहिर भने पहिलो मृत्यु फिलिपिन्समा १ फ्रेबुअरी २०२० मा भएको हो र एसिया बाहिर भने पहिलो मृत्यु १४ फेब्रुअरी २०२० मा फ्रान्समा भएको हो ।  विश्व स्वास्थ्य संगठनका अनुसार जम्मा केशमा मृत्यु भने ४.७ प्रतिशत देखिएको छ, जसको अर्थ १०० जना कोरोना संक्रमित छन् भने करिब ५ जनाले मात्रै ज्यान गुमाएका छन्, ९५ जना सकुसल घर फर्किन्छन् ।

यो भाइरसको कारणले देश नै लकडाउन गरिएको छ, अर्थतन्त्र धराशयी भएको छ भने दैनिक कमाएर गुजारा गर्नुपर्ने मानिसको जीवन कष्टकर बन्दै गइरहेको छ । धेरैको मनमा यो भाइरस कहिलेसम्म रहन्छ, कौतुहलको विषय बनेको छ ।

केही विद्वानहरुका अनुसार :

  • चीन सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार ज्योन्ग न्यान्सहानका अनुसार सबै देशहरुले रोग फैलिन नदिन विश्व स्वास्थ्य संगठनको सुझावलाई राम्रोसँग पालना गरेमा जुन अन्त्यसम्ममा विश्व कोरोनामुक्त हुनसक्छ ।
  • बेलायती प्रोफेसर निल फर्गुसनका अनुसार यो रोगको भ्याक्सिन नबनुन्जेलसम्मका लागि व्यक्ति व्यक्तिबीचको दूरी जरुरी छ । उहाँ सरुवा रोगसम्बन्धी विशेषज्ञ हुनुहुन्छ ।
  • विलियम स्क्याफनरका अनुसार यो रोग पूर्णतः निर्मूल हुनेछ र सिजलन फ्लुमा परिवर्तन हुनेछ र सम्भवतः वार्षिक सिजनल फ्लुको रुपमा फेरि आउनेछ तर यसबेलासम्ममा मानिसहरुमा रोग प्रतिरोधात्मक शक्तिको विकास भइसक्नेछ ।
  • जर्मनी तथा बेलायती केही विज्ञहरुले भने हर्ड इम्युनिटीलाई प्राथमिकता दिएका छन् । यसको अर्थ अत्यधिक व्यक्तिमा यो भाइरसको संक्रमण भएपछि एउटा यस्तो अवस्था आउँछ, जुनबेला मानिसको शरीरले यो भाइरससँग लड्ने क्षमता आफैँ विकास गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको लक्षण यही नै हो भन्न सकिने अवस्था छैन, ८८ प्रतिशतलाई ज्वरो र ६८ प्रतिशतलाई सुक्खा खोकी देखिएको छ भने केहीमा भने भोक नलाग्ने, स्वासप्रश्वासमा समस्या, सुँघ्ने क्षमता हराउने, छिटोछिटो श्वास फेर्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी खसखस तथा सुक्खा हुने, टाउको दुख्ने र एक्कासि डर पैदा हुने पनि देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ जना व्यक्तिमध्ये एक जना व्यक्ति भने गम्भीर रुपमा बिरामी पर्ने र उक्त व्यक्तिलाई श्वास फेर्न गाह्रो हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ जना व्यक्तिमध्ये एक जना व्यक्ति भने गम्भीर रुपमा बिरामी पर्ने र उक्त व्यक्तिलाई श्वास फेर्न गाह्रो हुने गर्छ । अमेरिकी रोग प्रतिरोधात्मक केन्द्रका अनुसार तुरुन्त अस्पताल लैजानुपर्ने गम्भीर लक्षणहरुमा स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, हिँड्न गाह्रो हुने जस्ता लक्षण पर्छन् । केही व्यक्तिमा भाइरस भए पनि लक्षण नदेखिएको हुनाले भाइरस लागेका व्यक्तिसँग सम्पर्क भएका व्यक्तिलाई परीक्षण गर्न जरुरी छ । चीनको अनुसन्धानले लगभग ४४ प्रतिशतमा यस्तो देखिएको छ । भाइरस सर्ने र लक्षण देखिने भने १ देखि १४ दिनसम्म र औसतमा ५ दिनमा लक्षण देखिएको छ, लगभग ३० प्रतिशतमा सुँघ्ने शक्ति हराउने देखाएको छ ।

केही विवरणहरुले भाइरस कसरी सर्छ भन्ने कुरा थाहा नभएको र पत्ता लगाउनुपर्ने देखाएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार प्राथमिक रुपमा रोग लागेको व्यक्तिसँगको नजिकको सम्पर्कबाट सर्छ । अनुसन्धानहरुले भाइरस घण्टौंसम्म बाँच्ने देखाएको छ भने प्लास्टिकमा तीन दिनसम्म पनि बाँच्ने कुरा पत्ता लागेको छ ।

कोरोनाको त्रास किन ?

चीनका डाक्टर ली वेनलियान जसले चीनमा कोरोनाभाइरसको बारेमा चेतावनी दिएका थिए, जसलाई पछि पुलिसले गलत सूचना प्रवाह गरेको भनेर समातेको समेत थियो । पछि कोरोनाकै कारण उनको मृत्यु भयो । सुरुमा यो भाइरसको महामारी चीनमा देखिएको थियो, जहाँ हालसम्मको तथ्यांकअनुसार ३ हजार ३१२ जनाको मृत्यु भइसकेको छ भने बाहिर पचासौँ हजार व्यक्तिको मृत्यु भएको हल्ला छ । कयौँ डाक्टर र नर्सहरुको समेत मृत्यु भएको र उनीहरुको अवस्था दयनीय देखिएको थियो ।

मृत्युको हिसाबले अहिलेसम्म इटली अगाडि छ, जहाँ १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ भने कयौँ परिवारहरुको बिचल्ली भएको छ, धेरै डाक्टर र नर्ससमेतको मृत्यु भएको छ भने स्थिति भयावह नै देखिन्छ । मृत्यु संख्याको हिसाबले स्पेन दोस्रोमा पर्छ, जहाँ हालसम्म ९ हजार ३८७ व्यक्तिको मृत्यु भइसकेको छ र भयावह स्थिति देखिन्छ । अमेरिका तेस्रो स्थानमा छ, जहाँ ५ हजार ११० जनाको मृत्यु भइसकेको छ भने भाइरसको फैलावट एकदमै धेरै छ । अमेरिकामा बिहीबार बिहानसम्ममा २ लाख १५ हजार २१५ जनामा संक्रमण देखिसकेको छ । फ्रान्स चौथो स्थानमा छ, जहाँ ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ भने चीन पाँचौँ स्थानमा झरेको छ ।

त्रासका मुख्य कारण

  • चीन, अमेरिका, इटली, फ्रान्स, स्पेन जस्ता विश्वको अति विकसित देशहरुमा भाइरसको कारणले भयावह स्थिति देखिनु ।
  • उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मी स्वयंको पनि मृत्यु हुनु ।
  • अहिलेसम्म पनि औषधी पत्ता नलाग्नु ।
  • विकसित र मेडिकल स्तरमा अगाडि भएका देशहरुले नियन्त्रण गर्न नसक्नु ।
  • नेपालजस्ता अविकसित देशहरुको तल्लो स्तरको स्वास्थ्य सुविधा, उपकरण हुनु र जनतालाई खासै विश्वास नलाग्नु ।
  • नेपालका उत्कृष्ट भनिने निजी अस्पतालहरु आफैँ डराएको देखिनु ।

मनोवैज्ञानिक असर

मानिसको हरेक क्रियाकलापमा मस्तिष्कको मुख्य भूमिका रहन्छ । मस्तिष्क ठीक छ भने यसले शरीरका प्रत्येक अंगलाई सही आदेश दिन्छ र शरीरले राम्रोसँग कार्य गर्छ तर मस्तिष्कले नै सही आदेश दिएन भने शरीरले कसरी कार्य गर्न सक्दैन । अहिले कोरोनाभाइरसको कारणले विश्व नै घेराबन्दीमा छ । यस्तो असहज परिस्थितिमा मानिसको मस्तिष्कले सही हिसाबले काम गर्न सक्दैन । परिवारका सबै व्यक्तिको निधन भएको छ, एकजना जीवित व्यक्तिलाई कस्तो असर परिरहेको होला, हामी कल्पना पनि गर्न सक्दैनौँ । इटली जस्तो देशमा लाश उठाउने मानिससमेत छैनन् । हामी अनुमान मात्र गर्न सक्छौँ, कस्तो पीडादायी अवस्था सिर्जना भएको होला । यस्तो अवस्थामा व्यक्तिहरुमा चिन्ता पैदा हुनु स्वाभाविक हो । अहिले विश्वभर नै लकडाउन गरिएको छ र आर्थिक अवस्था डामाडोल भएको छ । विश्व सेयर बजारमा ऐतिहासिक रुपमा गिरावट भएको छ भने यही अवस्था कायम रहिरहे लगभग विश्वमा ३२ प्रतिशत मानिसले रोजगारी गुमाउने देखिएको छ, यसबाट व्यक्तिहरुमा व्यापक रुपमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ ।

कोरोनाको मानसिक त्रास यतिसम्म देखिएको छ कि नेपालमा राम्रा भनिने अस्पतालहरु सामान्य बिरामी वा ज्वरो आएका बिरामी नै हेर्नसमेत डराइरहेका छन् ।  सामान्यतः ज्वरो आउँदैमा मात्र कोरोना लागेको हुँदैन र ज्वरो धेरै रोगहरुमा आउने गर्छ ।

हेल्थलाइन डट कमका अनुसार सामान्यतः ज्वरोका कारण निम्नानुसार छन् :

  • इन्फेक्सन, फ्लु, निमोनिया
  • बच्चाहरुमा दिइएको भ्याक्सिन
  • विभिन्न खालका सरुवा रोग
  • अत्यधिक सूर्यको किरण
  • खानामा विषाक्तता आदि

अन्य धेरै कारण छन्, जसले गर्दा व्यक्तिलाई ज्वरो आउँछ । यसको अर्थ जम्मा आउने बिरामीमा कोरोनाको कारणले गर्दा आउने बिरामी न्यून हुने सम्भावना हुन्छ तर अहिले अस्पताल र डाक्टरहरुमा यति धेरै मानसिक तनाव छ कि उनीहरुले सबै बिरामीलाई कोरोना नै लागेको देख्छन् र सामान्य बिरामी पनि मृत्युको मुखमा जाने अवस्था सिर्जना भएको छ । एकजना मनोविद्ले भनेका छन्‑ कारण त्यही नै हो, जसले तिमीलाई प्रभाव पार्दैन, प्रभाव पार्ने र असर गर्ने त तिम्रो मस्तिष्क हो, जसले फरक किसिमले व्यवहार गर्ने गर्छ ।

  • जर्मन हेस्स स्टेटका अर्थमन्त्री थोमस स्केफरले २९ मार्च २०२० का दिन कोरोनाका कारण अर्थव्यवस्था डामाडोल भएको र धान्न नसक्ने भन्दै आत्महत्या गरेका छन् । उनले यति धेरै तनाव लिए कि उनलाई मर्नु नै सान्दर्भिक लाग्यो ।
  • एबिपी न्युजका अनुसार भारतमा ज्वरो आएको कारणले कोरोना हुनुपर्छ भन्ने शंकाको भरमा तीन जनाले आत्महत्या गरेका छन् ।
  • इटलीमा कोराना लागेकी एकजना नर्सले पनि आत्महत्या गरेकी छन् भने नेपालमा लकडाउन भएको र बाहिर जान नपाएको भन्दै एक युवाले आत्महत्या गरेका छन् । मानसिक रुपमा नै लामो अवधिसम्म कोरोनाले प्रभाव पार्ने कुरा अवश्यम्भावी भइसकेको छ ।

चाल्नुपर्ने कदम

कोरोनाले पार्ने प्रत्यक्ष प्रभावलाई हटाउन र कम गर्न त सकिँदैन तर यसले पार्ने अप्रत्यक्ष प्रभावलाई भने धेरै हदसम्म कम गर्न सकिन्छ र गर्नुपर्ने हुन्छ । यसको त्रासले अहिले विश्व नै लकडाउनको स्थितिमा छ । यस्तो बेलामा मानिसलाई जो जहाँ छन् त्यहीँ बस्नका लागि भनिएको छ । नियमित रुपमा गर्ने काम गर्नु नपर्ने अवस्थामा मानिसहरु मस्तिष्कमा अनेकन् चाहिने/नचाहिने सोच पाल्न सक्छन् । भनिन्छ नि ‘खाली दिमाग सैतानको घर’ । त्यसैले आफूलाई सही हिसाबले व्यस्त बनाउनुपर्छ । त्यसका लागि-

  • अन्य बेलामा जस्तै दैनिक कार्य गर्ने, समयमै उठ्ने, खाना खाने, पुस्तक पढ्ने, लेख्ने, रचनात्मक कार्य गर्ने,
  • अनावश्यक रुपमा धेरै समाचार नपढ्ने, मनमा कुरा नखेलाउने, मस्तिष्कलाई भार पर्ने कार्य नगर्ने, सकारात्मक सोच बनाउने, सकेसम्म अहिलेको परिस्थितिमा राति सुत्ने बेलामा र बिहान उठ्नेबित्तिकै समाचार नपढिहाल्ने जसले मानसिक तनाव घटाउने कार्य गर्छ ।
  • दिनहुँ कसरत गर्ने, योगा गर्ने, ध्यानमा बस्ने, बेलुका सुत्नुअघि नुहाउने,
  • मनोरञ्जनात्मक खेलहरु खेल्ने, हाँस्ने, खुसी रहने, योजनाहरु बनाउनेलगायतका गतिविधिमा सहभागी भई परिवारसँग बढीभन्दा बढी गुणस्तरीय समय व्यतित गर्ने आदि ।

इन्डियन जर्नल अफ साइकोलोजिकल मेडिसिनमा सुरेश वाडालगायतका अनुसन्धानकर्ताहरुको खोजअनुसार प्राकृतिक प्रकोप तथा महामारीलाई कसैले रोकेर छेकेर सम्भव छैन । यसका लागि सुरुदेखि नै योजना बनाएर कार्यान्वयनमा लैजान जरुरी छ । कहिले प्रकोप आउँछ भन्नु भन्दा पनि प्रकोप आएको अवस्थामा के गर्ने भनेर पहिल्यै योजना बनाउन आवश्यक छ, यसले मनोवैज्ञानिक रुपमा पनि व्यक्तिलाई कम हानी गर्छ । विश्व स्वास्थ्य संगठनले तत्कालीन रुपमा मानसिक तनाव कम गर्न पूर्वयोजना बनाउने कुरामा समेत ध्यान पुर्‍याउन सुझाएको छ । सम्भव भएसम्म अधिक मात्रामा अन्तर्क्रिया गरी सकारात्मक सोचको विकास गर्न सके मानसिक तनाव कम गर्न सहयोग पुग्नेछ र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिएमा ठूलो राहत पुग्नेमा विश्वस्त हुन सकिन्छ ।

(नेपाल सरकारका लेखा अधिकृत कार्की हाल सामाजिक सुरक्षा कोषमा कार्यरत छिन् । लेखमा व्यक्त विचार लेखकका निजी विचार हुन् ।)

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु