गृहपृष्ठ कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउनुको विकल्प छैन : वीरेन्द्रबहादुर खड्का

कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउनुको विकल्प छैन : वीरेन्द्रबहादुर खड्का

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण आइतबार बिहानसम्म १२ लाखभन्दा बढीमा संक्रमण देखिएको छ भने ६४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले पनि उच्च सतर्कता अपनाइरहेको छ । तीनवटै सरकार आ-आफ्नो तर्फबाट कोरोना नियन्त्रणमा लागिपरेका छन् । केन्द्र सरकारले चैत ११ गतेदेखि देशभर दुई साताका लागि लकडाउन गरेको छ । त्यसै सन्दर्भमा जनताका दिनचर्या, कोरोना र स्थानीय तहको भूमिकाबारे नगरपालिका पनि आ‑आफ्नो जिम्मेवारीमा लागेका छन् । बझाङको जयपृथ्वी नगरपालिकाले कोरोना नियन्त्रणका लागि लकडाउनको कार्यान्वयन र सचेतनाका काम तीव्र रुपमा गरिरहेको छ ।

विश्वभर नै भाइरस फैलिएको अवस्थामा नगरपालिकाभित्र भाइरस फैलिन नसक्ने भन्ने हुँदैन, त्यसका लागि हामी सबै सचेत छौं । यो कुनै एक व्यक्तिका लागि मात्र फैलिने भन्ने हुँदैन । सहजै रुपमा एक व्यक्तिबाट अर्कोमा सर्ने हुँदा आवश्यक सावधानी अनिवार्य अपनाउनुपर्छ भन्दै सबै वडामा हामीले नागरिकलाई सचेत पार्दै आएका छौं ।

कोरोना भाइरस चीनको वुहानमा २०१९ को डिसेम्बरमा देखा परे पनि जनवरी २२ बाट फैलिएपछि विश्व नै लकडाउनको स्थिति पुगेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको चपेटामा पर्ने संकेत देखाएपछि सरकारले कोरोना नियन्त्रणका लागि सरकारका तीनै तहमा पत्राचार गर्‍यो । नेपालमा फ्रान्सबाट कतार हुँदै आएकी एक विद्यार्थीमा भाइरस संक्रमण देखिएपछि सरकारले संक्रमण फैलिन नदिन थप कडाइका साथ लकडाउन कार्यान्वयन गरिरहेको छ ।

कतिपयले सहरी क्षेत्रमा भाइरसको प्रकोप देखिने तर ग्रामीण भेग र हिमाली क्षेत्रमा नफैलिने हल्ला फैलाए पनि यस्तो हुन सक्दैन भन्दै हल्लाको पछाडि नलागेरै हामी निरन्तर कोरोनाबारे चेतना फैलाइरहेका छौं ।

कोरोनाबारे सरकारको सल्लाह र निर्देशनपछि बाहिरबाट आउने नागरिकलाई रोक्न तथा सुरक्षित रुपमा आवतजावत गर्नका लागि नगरपालिकामा हामी जनप्रतिनिधि रातदिन खटेका छौं । लकडाउनका बेला कसैलाई असहज नहोस् भन्नका लागि नगरपालिकाका जनप्रतिनिधिलगायत विभिन्न निकायका प्रतिनिधि सचेतना अभियानमा लागेका छौं ।

लकडाउनको समयमा जनचेतना

नागरिकलाई कोरोना संक्रमणबाट जोगिनका लागि नगरपालिकाका सबै वडाहरुमा हाम्रा स्वयंसेवक साथीहरुले माइकिङ गरिरहनुभएको छ । ग्रामीण भेगका किसानका लागि लकडाउनको बेलाका सुरक्षित तरिकाले पनि आफ्नो दैनिक काम गर्न सहज होस् भनेर सचेतना फैलाउँदै आएका छौं । नगरपालिकाभित्र पर्ने साविकका चैनपुर, रिठापाटा, सुवेडा, हेमन्तवाडा, लुयाटाँ र कैलाश गाविसमा वडाध्यक्षको नेतृत्वमा त्यहाँका वडा सदस्यहरु सचेतना फैलाइरहनुभएको छ ।

नगरपालिकाको १६७ वर्ग किमीमा फैलिएको नगरपालिकाको क्षेत्रभित्र जिल्ला सदरमुकाम भएको हुनाले पनि अलि बढी भीडभाड हुने गथ्र्यो तर लकडाउनको बेलामा भने सबै नागरिक सचेत भइसकेका छन् । कोरोना फैलिन नदिन २३ हजार नगरबासीलाई विभिन्न वडामा रहेका स्वास्थ्यकर्मी र जनप्रतिनिधिले अनावश्यक भीडा नजानका लागि आग्रह गर्दै दिनहुँजसो माइकिङ गरिरहनुभएको छ । आवश्यक सामग्री वितरण गरिरहनुभएको छ ।

नगरपालिकाभित्रका सबै वडाका टोलहरुमा पनि बाहिरबाट आएका मान्छेसँग टाढैबाट सम्पर्क गर्ने भन्दै सन्देश फैलाउनका लागि हामी रातदिन नै जनताको बीचमा गएका छौं । हामी जनताका सेवक हौं । जनताको हरेक मर्कामा मलमपट्टी लगाउनु हाम्रो कर्तव्य हो । कोरोनाको बेलामा मात्र होइन, सामाजिक कामका लागि पनि हामीले जनतालाई आवश्यक सहयोग गरिरहेका छौं ।

प्रदेश र केन्द्रीय सरकारले राहत घोषणा गरे पनि हामीले पाइसकेका छैनौं । स्थानीय स्तरको विपद कोषमा प्रदेश सरकारले दिने भनेको ३ लाख खातामा आइसकेको छ । यसले नपुगे अर्को विकल्प पनि अपनाउनेछौं । अहिले लकडाउनलाई हामीले पूर्णरुपमा कार्यान्वयनमा लगेका छौं । सहरी क्षेत्रको जस्तो लकडाउन ग्रामीण भेगमा त हुँदैन, किसानले दिनहुँजसो काम गर्नुपर्छ । त्यहाँ पनि हामीले बाहिरबाट आउनेबाट बचेर काम गर्नलाई सचेतना फैलाएका छौँ । किसानको बाली भित्र्याउने बेलामा पूर्णरुपमा लकडाउन गर्नका लागि असम्भव भएको हुँदा सचेत मात्र गराएका छौं ।

सर्जिकल नपाएपछि कपडाको मास्क वितरण

देशभर कोरोनाको त्रास फैलिएपछि जताततै सर्जिकल मास्कको अभाव भयो । त्यो बीचमा हामीले सर्जिकल मास्कको धेरै खोजी ग¥यौं तर कतै पनि फेला नपारेपछि केही हदसम्म पनि बच्नका लागि कपडाका सिलाइएका मास्क वितरण गरेका हौं । खासगरी विदेशबाट आएकाहरुलाई गाउँघरमा मास्क तथा सेनिटाइजरहरु वितरण गरेका छौं । सबै नागरिकलाई वितरण गर्न पनि सम्भव नहुने हुँदा केही समययता भारतबाट आएकाहरुलाई भीडभाडमा नजानका लागि जानकारी दिँदै वितरण गरेका हौं ।

कोरोनाको त्रास फैलिएपछि भारतबाट आएका नगरपालिकाका केही व्यक्तिलाई नगरपालिकाको सहयोगमा क्वारेन्टाइमा पनि राखेका छौं । हामीसँग पर्याप्त चिकित्सक छैनन् । हामी पनि त्रसित नै भएको हुँदा जनतालाई थप असहज नहोस् भन्नका लागि कपडाको मास्क भए पनि वितरण गर्नुपर्‍यो भन्ने सल्लाहले वितरण गरेका हौं ।

हामीलाई कपडाको मास्कको प्रभावकारिताबारे खासै जानकारी नभएको हुँदा अनिवार्य मास्क भनेपछि कपडाको भए पनि नगरबासीलाई सुरक्षित राख्न कपडाको मास्क सिलाएर वितरण गरेका हौं । अहिले विभिन्न वडाका जनप्रतिनिधि तथा १३ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई पनि गाउँगाउँमा परिचालन गराएका छौं । यहाँ सामान्य बिराम भए पनि कोरोनाको आशंका भइरहेको हुँदा उहाँहरुलाई स्वास्थ्यकर्मीसँग सम्पर्क गराएका छौं ।

स्वास्थ्यकर्मी परिचालन

लकडाउनको आज १२ दिन बितिसकेको छ । यसबीचमा हामी सबै नगरबासीसम्म पुगेका छौं । सुरुका दिनमा त लकडाउनबारे जोकोही अनभिज्ञ नै थिए । स्वास्थ्यकर्मी र हामी जनप्रतिनिधि गाउँगाउँमा कोरोनाबारे चेतना फैलायौं/फैलाइरहेकै छौं । अहिले सचेत बनाउन सफल भएका छौं भन्ने लाग्छ ।

विभिन्न कारणले पछाडि परेको जिल्लामा स्वास्थ्यकर्मीलाई पनि सामान्य औजारहरु नभएको हुँदा कोरोनाको त्रासपछि केही सामग्री खरिद गरेका छौं । थप थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री सबै १३ वटै स्वास्थ्य संस्थामा पु¥याएका छौं । गाउँ गाउँमा स्वास्थ्यकर्मीले मात्रै कोरोनाबारे जानकारी दिन नसक्ने हुँदा हामीले नगरपालिका क्षेत्रभित्र काम गर्ने स्थानीय सामाजिक संस्था र टोल विकास समितिहरूले पनि सहयोग गरिरहेका छन् । उनीहरुसँग हामीले समन्वय गरिरहेका छौं ।

यो अवधिमा हामी आफैं गएर जो कोही भए पनि दुई मिटरको अन्तरमा बस्नका लागि विभिन्न ठाउँहरुमा माइकिङ गर्दै टोल टोलमा पुगिरहेका छौं । अहिले पनि १३ वटा स्वास्थ्य संस्थामा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई हौसला दिएर परिचालन गरेका छौं । यति गर्दा पनि रोग नफैलिएला त भन्न सकिँदैन तर पनि केही हदसम्म कम हुनसक्छ कि भन्ने लागेको छ ।

भारतबाट आएकालाई क्वारेन्टाइनमा

विदेशबाट फर्किएका मानिसलाई १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको निर्देशनलाई पालना गरेका छौं । विशेषगरी भारतबाट आएका पाँच जनालाई अनिवार्य रुपमा क्वारेन्टाइमा राख्नुपर्ने भन्दै नगपालिकाकै खर्चमा एउटा घरमा राखेका छौं ।

एक कोठामा २ जनालाई राख्ने गरी ५ जना भारतबाट आएकाहरुलाई सम्झाइबुझाई गरेपछि सेल्फ क्वारेन्टाइनमा बस्न उहाँहरु तयार हुनुभएको हो । सुरुमा त भारतबाट आएर घर जाने तयारीमा हुनुहुन्थ्यो । हामीले उहाँहरुलाई रोकेर नगरपालिकाको सम्पूर्ण खर्चमा सुरक्षित राखेका छौं । दिनहुँजसो स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

अहिले बाहिरबाट आउनेको संख्या रोकिएपछि नगरबासीलाई पनि सहज भएको छ । सदरमुकाममा लकडाउनका बेलामा सबैलाई घरभित्रै बस्न अनुरोध गरेपछि अत्यावश्यक काममा बाहेक अन्य कुनै कामका लागि पनि बाहिर आउन दिएको छैन ।

अहिले आफैं स्वस्फूर्त हिसाबले घरभित्रै परिवारलाई समय दिइरहनुभएको छ । दैनिक ज्यालादारी गर्नेहरु छैनन् । पूर्वतिरका केही साथीहरु हुनुहुन्थ्यो, लकडाउन लाग्ने भन्ने थाहा पाउनेबित्तिकै उहाँहरु घर गइसक्नुभएको छ । लकडाउनका बेला कसैलाई विभिन्न खाद्य वस्तुलगायतका सामग्री अपुग भए नगरपालिकाले सहयोग गर्छ ।

बाहिरबाट आउनेलाई प्रवेश निषेध

नगरपालिकाको क्षेत्रभित्र प्रायः नयाँ मान्छेलाई प्रवेशमा रोक लगाएका छौं । बाहिरबाट आएका भनिएका पाँच जनालाई हामीले होम क्वारेन्टाइमा राखिसकेपछि अहिले त्यस्तो जटिल अवस्था केही छैन । बाहिरबाट आएका नागरिकलाई नगरभित्र आउँदा कतै संक्रमण भएको हुनसक्ने र जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित भएर बस्नुहोस् भन्ने हाम्रो भनाइ अहिले लागू भइरहेको छ ।

कथंकदाचित नगरपालिकाभित्र संक्रमण देखिहालेमा केही थान पिपिइ, सर्जिकल मास्क र स्यानेटाइजरहरु मागअनुसार उत्पादन गरेर वा बाहिरबाट आपूर्ति गर्ने तयारी गरिरहेका छौं । केही सामग्री त ल्याइ पनि सकेका छौं ।

लकडाउनका बेलामा खासै खाद्य सामग्रीको अभाव भएको जानकारी हामीलाई आएको छैन । करिब २३ हजार हाराहारी नागरिक छन् । सबै आफ्ना गाउँघरका भएको हुँदा खाद्य सामग्री असहज भएको जानकारी आएको छैन । समस्या भएकालाई हामीले विभिन्न खाद्य पसलसँग समन्वय गरेर अघि बढिरहेका छौं ।

(भूमिराज पिठातोलीसँगको टेलिफोन कुराकानीमा आधारित)

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु