गृहपृष्ठ राजधानीमा खुलेनन् तरकारी बिक्री केन्द्र, बल्खुमा व्यापारी र उपभोक्ताको भीड
राजधानीमा खुलेनन् तरकारी बिक्री केन्द्र, बल्खुमा व्यापारी र उपभोक्ताको भीड
लकडाउनका कारण कालिमाटी र बल्खुका तरकारी बजारमा थोक व्यापारीदेखि उपभोक्तासम्मको भीड बढेपछि सरकारले चैत २४ गते दुवै तरकारी तथा फलफूल पसल बन्द गर्ने निर्णय गर्यो । दुवै तरकारी बजार बन्द गरेर चैत २६ गतेभित्र उपत्यकाका ११ ठाउँमा बिक्री केन्द्र खोल्ने तयारी गरेको सरकारले बल्खुको तरकारी बजार बन्द गर्न सकेन, न त ११ ठाउँमा पसल नै खोल्न सक्यो ।
सरकारको कालिमाटी बजार बन्द गरेर उपत्यकाका विभिन्न स्थानमा बजार सञ्चालन गर्न नसक्दा बल्खुको तरकारी तथा फलफूल बजारमा भीड बढेको छ । ‘हालसम्म कलंकी र स्वयम्भू चोकमा मात्र तरकारी पसल खोल्न सकिएको छ,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १५ अध्यक्ष ईश्वरमान डंगोल भन्छन्, ‘बल्खुका व्यापारीले बन्द गर्न नमान्दा त्यतै भीड बढेको छ ।’
तरकारी बजारमा भीड कम पहिला कालिमाटीको खुद्रा पसल बन्द गरिएको थियो । कालिमाटी बजार पूर्णरुपमा बन्द भएपछि तरकारी वितरण व्यवस्था र मूल्य प्रणाली झनै भद्रगोल भएको छ ।
महानगरले तरकारी बिक्री केन्द्र स्थापनाका लागि कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, बसुन्धारा, गोपीकृष्ण, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरमा ठाउँ दिने निर्णय भएको थियो । लकडाउन अवधिभर ती स्थानमा वैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ दिने भनिए पनि शौचालय र पानीको व्यवस्थापन मिलाउन नसक्दा ठाउँ दिन नसकिएको प्रवक्ता डंगोल बताउँछन् । ‘पानी त बरु मिल्थ्यो होला, शौचालयको व्यवस्था तत्काल गर्न सकिएन र अफ्ठ्यारो भइरहेको छ,’ उनले भने, ‘एक‑दुई दिनमै तरकारी बिक्री केन्द्र खोलिसक्छौं ।’
चैत २३ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि भीड कम गर्न भौतिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।
त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरिएको अस्वाभाविक मूल्यले थोक र खुद्रा मूल्यमा देखिएको अन्तरलाई यथार्थपरक बनाउने निर्णय पनि भएको थियो । तर, अहिले तरकारीको आधार मूल्य नै नहुँदा व्यापारीले ब्रह्मलुट मच्चाइरहेका छन् । अहिले कुनै सरकारी निकायले तरकारीको आधिकारिक मूल्य तोक्ने र सार्वजनिक गर्ने गरेका छैनन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २७ गतेदेखि तरकारी बजार बन्द गरेको छ । ‘बजार नै बन्द भएपछि तरकारीको मूल्यसूची तोक्न सकिने हुँदैन,’ समितिका उपनिर्देशक विनय श्रेष्ठ भन्छन्, ‘अहिले के भइरहेको छ, कसरी मूल्य निर्धारण भइरहेको छ समितिलाई औपचारिक जानकारी छैन ।’
प्रकाशित समय १४:१५ बजे

















