गृहपृष्ठ उपत्यकामै संक्रमित भेटिएपछि नमूना परीक्षण गराउने बढे

उपत्यकामै संक्रमित भेटिएपछि नमूना परीक्षण गराउने बढे

अस्पतालद्वारा आइसोलेसन र आईसीयू कक्ष वृद्धि

सनसिटी अमार्टमेन्टमा मंगलबार कोरोना परीक्षण गरिँदै ।

उपत्यकामा कोभिड-१९ संक्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मंगलबार दुई जनामा संक्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालमा आएर परीक्षण गराउनेको संख्या बढेको बताए । उनका अनुसार पहिले दैनिक १०-१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन् ।

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई संक्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् । ‘उपत्यकामा संक्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमूना परीक्षण गराइरहेका छन्,’ उनले भने, ‘विगत एक-डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’

अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले संक्रमण देखिन थालेपछि आइसोलेसनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचार कक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।

पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो संक्रमण देखिएको हो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।

मंगलबार संक्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको टेकु अस्पतलाको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले नेपालमा १६ जनामा संक्रमण देखिएको छ । कैलालीमा चार, कञ्चनपुरमा एक, वागलुङमा दुई, काठमाडौँमा पाँच, पर्सामा तीन र रौतहटमा एक जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उपत्यकामा नमूना परीक्षणको दायरा बढाइरहेको बताए । उनले मंगलबार संक्रमित देखिएका स्थानमा एक हजार ७०० को परीक्षण गरिने जानकारी दिए । मन्त्रालयका अनुसार मंगलबारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको छ ।

परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । इपिडिमोलोजी तथा सरुवा नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताए । ‘हरेक स्थानीय तहले आफ्नो वडामा विदेशबाट आएका मानिसको नाम संकलन गरिरहनु भएको छ,’ उनले भने, ‘ती संकलितहरुको हामीले नमूना परीक्षण गरिरहेका छौँ ।’

उनले मंगलबार देखिएका दुई जनाको आफन्त र नातेदारमा पीसीआर र अपार्टमेन्टमा बस्ने अन्यलाई आरडीटी विधिबाट परीक्षण सुरु गरिसकेको जानकारी दिए । मंगलबारमात्र उपत्यकामा पीसीआरबाट ३८७ जनाको परीक्षण गरिएको छ ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु