गृहपृष्ठ मिर्गौला पीडित बिरामीको दुखेसो- औषधि खान नपाएर मरिने भइयो
मिर्गौला पीडित बिरामीको दुखेसो- औषधि खान नपाएर मरिने भइयो
यतिखेर देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले लाखौंको ज्यान लिइसकेको छ । नेपालमा भने १ जनाको पनि ज्यान गएको छैन । यो नेपालको लागि सुखद पक्ष हो ।
भाइरसले मानिसको ज्यान नलिए पनि विस्तारै यसको प्रभाव हरेक क्षेत्रमा देखिँदैछ । मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाएका छैनन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नहरु भोकै पर्न थालेका छन् । लकडाउनले चौथो साता पूरा गर्न लागेको छ । सरकारले लकडाउन थप्दै लगेपछि काठमाडौंमा रहेका मानिसहरु हिँडेरै गाउँतर्फ गइरहेका छन् ।
कोरोना त्रास र लकडाउनले को गरिब, को मजदुर, को सम्पन्न, को विपन्न सबैलाई समस्यामा पारेको छ । फरक यति हो, सम्पन्न वर्गकाहरु कम मारमा परेका छन् र गरिबहरु अलि बढी । तर सबै आपतमै छन् यतिबेला । यसमा पनि रोगी, बिरामी र अशक्तहरु बढी समस्यामा छन् । नियमित औषधि खानुपर्ने र अस्पताल धाइरहनुपर्ने किसिमका स्वास्थ्य समस्या भएकाहरु चिन्तित छन् ।
मिर्गौलाका बिरामीहरु लकडाउनका कारण सबैभन्दा बढी पीडित भएका छन् । नियमित डायलासिस गर्नुपर्ने बिरामीहरुका लागि काठमाडौंं महानगरपालिकाले एम्बुलेन्स सेवा उपलब्ध गराएपछि केही सहज भने भएको छ । तर औषधि किन्ने पैसा जुटाउन नसक्दा उनीहरु अत्यन्त समस्यामा छन् ।
भक्तपुरको कमलविनायकमा तरकारी पसल गर्दै औषधि खाने पैसा जुटाइरहेका जीवन रञ्जितकार यतिखेर घरमै ‘थुनिएका’ छन् । लकडाउनपछि उनको आम्दानी करिब शुन्य भएको छ । ३ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका उनले नियमित औषधि खानुपर्छ । ‘बिहान र बेलुका मात्र पसल एकैछिनका लागि खुल्ने हो । अहिले तरकारी लिन जाने ठाउँमा पनि बजार बन्द भएकाले ल्याउन पाइरहेको छैन,’ उनले भने ।
तत्काल लकडाउन खुलिहाल्ने छाँट नदेख्दा उनी थप पिरोलिएका छन् । ‘कमाई केही छैन । अब औषधि किन्ने पैसा कहाँबाट ल्याउने होला । मरिने भइयो,’ उनले समस्या सुनाए, ‘दिनहुँ खानुपर्ने औषधि सकिन लाग्यो । अर्को औषधि किन्ने बेला भइसक्यो । तर साथमा पैसा छैन ।’
एकातिर उनलाई औषधि किन्ने पैसा कहाँबाट ल्याउने भन्ने पीर छ । अर्कोतिर आफूले खाने औषधि बजारमा नपाउने हो कि भन्ने लागेर उनी चिन्तित छन् । लकडाउनले आफ्नो कठिन जीवनलाई झन् कठिन बनाएको उनले सुनाए । ‘भान्सामा चुलो नबल्ने अवस्था आउन लागिसक्यो । लकडाउन पनि खुलिहाल्लाजस्तो छैन । अब के गर्ने हो, तनावमा छु,’ उनले भने । सरकारले आफूहरुजस्ता निम्न आय भएका मिर्गौलाका बिरामीहरुका लागि पनि केही सोचिदिनु पर्ने उनको माग छ ।
यो व्यथा भक्तपुरकै सल्लाघारी बस्ने सिताराम योगीको वर्तमान अवस्थासँग दुरुस्त छ । ४ वर्षदेखि डायलासिस गर्दै आइरहेका योगी कोठाभाडा तिर्ने र औषधि खाने पैसा नहुँदा आत्तिएका छन् । नियमित खानुपर्ने औषधि किन्न पैसा नभएकाले निकै गाह्रो भइरहेको उनले पीडा पोखे ।
उनलाई अहिले औषधि खान मात्र हैन दैनिक जीवन गुजारा गर्न निकै कठिन हुन थालेको छ । ‘साथमा पैसा पनि छैन । आउने बाटो पनि छैन,’ योगी भन्छन्, ‘लकडाउन खुल्नुको साटो अझै थपियो भने त्योभन्दा आपत अरु हुँदैन । आफूले दैनिक औषधि नखाइ हुन्न । खै अब के गर्ने हो, थाहा छैन ।’ सरकारले वैशाख १५ गते लकडाउन खुलाए थप समस्या हुने थिएन कि भन्ने उनलाई लाग्छ ।
भक्तपुरको बालकोट बस्दै आइरहेका रविन रुचालको पनि पीडा उस्तै छ । उनी पनि नियमित औषधि सेवन गर्दै आइरहेका बिरामी हुन् । सामान्यतया महिनाको कम्तिमा १८ देखि २० हजार रुपैयाँ बराबरको औषधि खाने गरेको उनले बताए । अब बजारमा औषधि नपाउने हो कि भन्ने उनलाई पनि चिन्ता लाग्न थालेको छ । ‘अहिले लकडाउनले गर्दा कमाई गर्न पाएको छैन । अहिलेसम्म त जसोतसो गरेर औषधि खाइरहेको छु । अब पनि यसरी नै लकडाउन थपिँदै जाने हो भने यति महँगो औषधि किनेर खान सकिन्न होला,’ उनले भने ।
काठमाडौंमै बस्ने बिरामीलाई पैसा भएको खण्डमा औषधि किनेर खान अहिलेसम्म त्यति गाह्रो नहोला । तर काठमाडौंबाहिर रहेका मिर्गौला पीडित बिरामीहरुले पैसा भएर पनि सहजै औषधि पाउने अवस्था छैन । यस्तोमा उनीहरुको स्वास्थ्य थप नाजुक हुने र ज्यानै जोखिममा पर्नसक्ने सम्भावना हुन्छ । सरकारले विपन्न वर्ग र मजदुरहरुलाई राहतका प्याकेज ल्याएर जसरी घाउमा मल्हम लगाएको छ, त्यसरी नै नियमित महँगो औषधि खानुपर्ने आफूहरुका लागि पनि केही व्यवस्था मिलाउनु पर्ने मिर्गौलाका बिरामीहरुको माग छ ।
प्रकाशित समय १४:०० बजे

















