गृहपृष्ठ काठमाडौंमा कोरोना परीक्षण गराउने बढे
काठमाडौंमा कोरोना परीक्षण गराउने बढे
सरकारले कोभिड- १९ संक्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।
काठमाडौँ महानगरपालिकामा गत बुधबारदेखि सुरु भएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको काठमाडाैंमा हालसम्मा २५ वटा वडाका शंकास्पद व्यक्तिको परीक्षण भएको छ ।
विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण सुरु भएको छ । परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरे ।
कामपा शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सोमबार मात्रै वडा नं. ६, ७, ८ र ९ का १६८ जनाको परीक्षण गरिएको र अब वडा नं. १, २ ३, ११, २८, २९ र ३० वडाको परीक्षण बाँकी छ । महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३२१ जनाको विवरण संकलन भएको बताए । (रासस)
प्रकाशित समय १३:५१ बजे

















