गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, उदयपुरमै भेटिए १४ जना
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, उदयपुरमै भेटिए १४ जना
आरडीटी र पीसीआर विधिमार्फत ३६ हजार ७ सय १९ को परीक्षण
उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । देशभर संक्रमितको संख्या ३२ पुगेको छ ।
उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमूना संकलन भएको छ ।अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेकाले नतिजा आउन बाँकी रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. देवकाेटाले जानकारी दिए ।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ । यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि बस्तीका अन्यको पनि स्वाब संकलन र परीक्षण गरिएको हो ।
३६ हजार ७ सय १९ को परीक्षण
मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ । त्यस्तै पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ ।
हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको मन्त्रालयले जानकारी दिएकाे छ । त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना रहेका छन् । काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १७:४२ बजे

















