गृहपृष्ठ क्यान्सरसँग हारे भारतीय अभिनेता इरफान खान
क्यान्सरसँग हारे भारतीय अभिनेता इरफान खान
भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।
सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल ‘सलाम बम्बे’ बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।
इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याति कमाएका ‘स्लमडग मिलेनियर’, ‘जुरासिक वल्र्ड’, ‘दी अमेजिङ स्पाइडर-म्यान’ र ‘लाइफ अफ पाई’ जस्ता चलचित्रमा समेत काम गरेका थिए । उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए ।
सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।
प्रकाशित समय १४:४८ बजे

















