गृहपृष्ठ ओली शासनको पतन
ओली शासनको पतन
२०७४ साल फागुन ३ गते मध्याह्न साढे १२ बजे प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा केपी शर्मा ओली विश्वकै शक्तिशाली सरकार प्रमुखका रुपमा चित्रित हुँदै थिए । पाँच वर्ष सरकारको नेतृत्व आफैँ गर्ने र मुलुकलाई कायापलट गराउने ‘जोस’सहित साढे ३ घण्टाभित्रै उनले राष्ट्रपतिबाट सपथग्रहण गरे ।
ओलीले सरकारको नेतृत्व गरेको आज (वैशाख १७) दुई वर्ष दुई महिना १४ दिन हुँदै छ । यसबीचमा उनमा सत्ताको उन्माद यति बढ्यो कि ‘म को हुँ’ र ‘कसका लागि हुँ’ भन्ने नै बिर्सिए । उनलाई भक्तिगानबाहेक अरु सबै अरुचिकर लाग्दै गयो । प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै जग हल्लाउने परिवर्तन गर्नसक्ने गरी जनताबाट अनुमोदित भएका ओली अप्रत्यासित ढंगले स्खलित भइसकेका छन् । पार्टीभित्र, बाहिर र जनताका नजरमा ‘खराब शासक’मा परिणत हुँदै छन् ।
पार्टी र सरकारमा समेत दुई वर्षदेखि ‘बिचरा’ भएर ओली शासन नियालिरहेका माधवकुमार नेपाल शक्तिशाली हुँदै जाँदा ओली निरीह बन्दै गएका छन् । हरेक पटक पासा पल्टाउन ढाँटछल गरिरहेपछि ओलीको दुई तिहाइको गणित फेल खाएको छ । दम्भ सकिएको छ । प्रधानमन्त्रीमा टिकिरहन आफ्नै दलका सांसदसामु याचना गर्नुपरिरहेको छ । माधव नेपालले कुनै ‘भ्यालु’ दिएका छैनन् ।
दुई वर्षअघि के थिएन ओलीसँग ? जनमत थियो । विश्व समुदाय थियो । शक्ति थियो । प्रभाव थियो । पार्टीपंक्ति थियो । उत्साह थियो । जनताको आशा थियो । तर, अहिले राष्ट्रपतिबाहेक सबै पोखिएको छ, जनमत, वाह्य कूटनीति, शक्ति, प्रभाव, पार्टीपंक्ति, उत्साह सबै सबै । र, त्यससँगै केपी शासन पतन भएको छ ।
ओली शासन पतन हुनुका पछाडि मैले केही कारण पहिल्याएको छु :
दुई तिहाइ
केपी ओलीको सबैभन्दा ठूलो शत्रु बन्यो दुई तिहाइ । उनलाई अब मलाई कसैले छुन सक्दैन, मलाई दुई तिहाइबाहेक कोही चाहिँदैन, म नै सर्वेसर्वा हुँ भन्ने भावना दुई तिहाइले नै जगाइदियो । उनले बिर्सिए, दुई तिहाइ भनेको जनमत हो र यसको मैले सम्भार गर्नुपर्छ । अहिले त्यही दुई तिहाइको भूतले उनलाई तर्साउँदै छ ।
सल्लाहकार
केपी ओलीले गलत सल्लाहकार मण्डल चयन गरे । र, ती बाहेक उनले कसैका कुरा सुनेनन् । पार्टीका शीर्ष नेतादेखि अध्ययनशील नेतासम्मलाई उनले छेउमा आउने मौका दिएनन् । मनमौजी गर्दै गए । राजनीतिक नियुक्तिमा आफ्नाभन्दा बाहेक कसैलाई चिनेनन् । आफ्ना सबै राम्रा र अरुका सबै नराम्रा भए । विगतमा जोबाट जोगाइए, अहिले उनैबाट धकेलिँदैछन् ओली ।
कर्मचारी
ओलीले कर्मचारी चिन्न सकेनन् । जकडिएको ब्युरोक्रेसीलाई ध्वस्त बनाएर नयाँ संरचना विकास गर्ने अवसर ओलीसँग थियो । राम्रा, गतिशील र देशघाती कर्मचारी पर्गेल्ने र उचित दण्ड तथा पुरस्कार दिनसक्ने हैसियत ओलीसँग थियो । तर, उनले राम्रालाई भन्दा हाम्रालाई काखी च्यापे । परिणामतः तिनै टाउकोमा उक्लिए र ओलीलाई टाङमुनि पुर्याइदिए ।
संघीयता
ओलीले कहिल्यै संघीयता स्वीकार गरेनन् । संघीयता भनेको विकेन्द्रीकरणको उच्च अभ्यास हो भन्ने आजसम्म उनको मगजमा प्रवेश नै गरेन । देशमा स्थानीय सरकार र प्रदेश सरकार पनि छन्, देश निर्माणमा तिनको ठूलो भूमिका छ भन्ने उनलाई कहिल्यै हेक्का भएन । आवश्यक कानुन निर्माण गरेर स्थानीय तह र प्रदेश सरकारलाई सहज गरिदिनुपर्छ भन्ने कहिल्यै सोचेनन् । त्यही सोच प्रदेश सरकारमा मौलायो । प्रदेशले पनि स्थानीय तहलाई छुट्टै सरकार नै गनेनन् । तीन तहका सरकार आ‑आफ्नै ढंगले चल्न थाले । तीनै तहका सरकारबीच समन्वय नहुँदा भएका कामको पनि ओली सरकारले जस लिन सकेन । केन्द्र, प्रदेश र स्थानीय सरकारले के कति काम गरे भन्ने कुनै तथ्यांक कसैसँग पनि छैन ।
विद्वान
केपी ओलीलाई अर्थविद चाहिएन । अर्थमन्त्री नै पर्याप्त छन् भन्ने बुझाइमा उनी रहे । अर्थविद् कुनै पार्टीका हुन्नन् । विचारमा कुनै पार्टीनिकट रहे पनि देशका लागि उनीहरूले घात गर्ने थिएनन् । विज्ञहरूको फरक‑फरक समूहमार्फत कृषि, जल, शिक्षा, परराष्ट्र, यातायात, व्यापार, उत्पादन, जनसंख्या र श्रम नीति बनाएर सोहीअनुसार देशको सम्पूर्ण गतिविधि तीव्र रुपमा अघि बढाउन सक्ने अवसर उनले देखेनन् ।
मिडिया दृष्टि
केपी ओलीको सञ्चार माध्यमप्रतिको कलुषित सोच कहिल्यै सुध्रिएन । मिडियाले गल्ती देखाइदिँदा उनले सच्याउने अवसर पाउँथे । तर, त्यता लागेनन् । बरु पत्रकारलाई गलत देखिरहे । देश विकासमा पत्रकारिताको ठूलो भूमिका हुन्छ । चाकडी गर्ने यहाँ जो पनि पाइन्छ तर गल्ती औँल्याइदिने भेटिन मुस्किल हुन्छ, गल्ती औँल्याइदिँदा झम्टिएर ओलीले सबैभन्दा ठूलो गल्ती गरे ।
कार्यशैली
ओली प्रधानमन्त्री नै बन्न सकेनन् । सबै मन्त्रालयको कामको मनिटरिङ गर्नुपर्ने ओली सबै मन्त्रालयका काम आफैँ गर्न थाले । जस लिनेबेलामा अघि सर्ने र दोष जति अरुलाई थुपार्ने प्रवृत्ति नै उनका लागि घातक बन्यो । विभागीय मन्त्री पनि ओलीको अनुमति पर्खिएर बस्न थाले । हरेक मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गरे/नगरेको अनुगमन गर्ने र नगरे कारण खोज्दै समाधानको पहल गर्नतर्फ ओली लागेनन् । पुरानो सत्ता शैलीलाई नै निरन्तरता दिए । नयाँ प्रणालीमा पुरानो कार्यशैलीबाट अघि बढ्न खोज्नु मुर्ख्याइँ नै हो ।
कृषिमा बेवास्ता
केपी ओलीले कृषिक्षेत्रलाई बेवास्ता गरे । कृषिक्षेत्र साना तथा मझौला व्यवसायका लागि मेरुदण्ड मात्रै होइन, कृषिमा आत्मनिर्भरता अपरिहार्य नै हुन्छ । अहिले कृषि विभाग हरेक स्थानीय तहमा छन् । तर त्यहाँ न कार्यालय छ न त कृषि प्राविधिक छन् । कृषिक्षेत्रमा कति प्राविधिक चाहिन्छन् ? कृषिका कार्यक्रमको स्थिति के छ ? अनुदानका कार्यक्रम किन सफल भइरहेका छैनन् ? अनुदानका कार्यक्रम असफल भएका हुन् भने त्यसको विकल्प के हुनसक्छ ? उनले स्थानीय तहलाई कहिल्यै सोधेनन् । कृषिक्षेत्रमा ठूलो जनसंख्या आश्रित छ । कृषिलाई ख्याल गरेको भए ती जनताले उनलाई कहिल्यै भुल्ने थिएनन् ।
अरु पनि धेरै कारण छन् जसले ओलीलाई तल घचेट्न सहयोग गरे । अब समय त छैन । ‘हिसाबकिताब मिलाएर’ सत्ता केही दिन जोगाए पनि विश्वास ढलिसकेको छ । सांसद किनबेच गरेर केही दिन कुर्सी टिकाए पनि ओली शासन पतन भइसकेको छ ।
प्रकाशित समय १८:४४ बजे

















