गृहपृष्ठ मुर्दा चिर निद्रामा छ

मुर्दा चिर निद्रामा छ

मुर्दा चिर निद्रामा छ

दमाहा पिट

नर्सिङ्गा फुक

सनाइ फुक

झ्याली पिट

ट्यम्को बजाऊ

ढोल पिट

मृदङ्ग बजाऊ

मादल ठोक

बिणाका तारहरु झन्काऊ

सितार तन्काऊ

सारङ्गी रेट

कर्ताल चलाई

बाँसुरीको धुन सुनाऊ

तबला घन्काऊ

हार्मोनियमा स्वर भर

बिनायो बजाऊ

मुर्दा चिर निद्रामा छ

पिट्नेहरु ताली पिट

अरुलाऊ नकुर

फुक्नेहरु मन्त्र फुक

आगो नझोस्

चलाउनेहरु कलम चलाऊ

हतियार नचलाऊ

ठोक्नेहरु केन्द्रमा ठोक

छेउ टुप्पो नछेड

रेट्नेहरु चन्दन घोट

कोपिलाका घाटी नरेट

भर्नेहरु रङ्ग भर

कुँडा करकच नथुपार

घन्काउनेहरु नारा नघन्काऊ

चेतना जगाऊ

तन्काउनेहरु रबर नतन्काऊ

सास लम्ब्याऊ

बजाउनेहरु अपांगता नबनाऊ

खोपडीमा बजाऊ

झन्काउनेहरु पारा नतताऊ

रोम रोम झन्काऊ

सुनाउनेहरु कान खुलाऊ

उपदेश नबाँड

मुर्दा चिर निद्रामा छ

उठ्न सक्नेहरु

खम्बा बन

बस्न सक्नेहरु

भित्ता बन

सुत्न सक्नेहरु

छतरी बन

बाँच्न सक्नेहरु हो

तिमी मुर्दा नबन

मुर्दा चिर निद्रामा छ

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु