गृहपृष्ठ म्याग्दीमा थप दुई जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

म्याग्दीमा थप दुई जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

dengu-newskarobar

कोरोना भाइरस संक्रमण जोखिमका बीच म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेंगु संक्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेंगु संक्रमितको संख्या नौ पुगेको छ ।

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए । ‘डेंगुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेंगुले सताउने संकेत देखिएको छ,’ डा बस्ताकोटीले भने । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेंगु पोजेटिभ देखिएको थियो ।

यससँगै बेनी नगरपालिकामा छ, मंगलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै संक्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

डेंगुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेंगुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गत वर्ष म्याग्दीमा १२ जनामा डेंगु र एक जनामा स्क्रबटाइफस देखिएको थियो ।

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेंगुको संक्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । (रासस)

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु