गृहपृष्ठ महामारीको बेला नर्सको भूमिका उच्च : देउवा

महामारीको बेला नर्सको भूमिका उच्च : देउवा

विश्व नर्स दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । मंगलबार विज्ञप्तिमार्फत देउवाले संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण नर्सहरूप्रति शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘विश्व नर्स दिवसको यस अवसरमा नर्सिङ पेशामा क्रियाशील सबै जनालाई नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

‘मुलुक अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा छ । यतिबेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको हुन्छ । आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु्,’ देउवाद्वारा जारी सन्देशमा उल्लेख छ ।

‘कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र उहाँहरुको मनोवल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ । विश्व नर्स दिवसको अवसरमा पनि सरकारको पुनः ध्यानाकर्षण गराउँदै नर्सिङ क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा पुनः शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु