गृहपृष्ठ प्रहरीलाई भित्रै थुनेर चौकीमा तालाबन्दी, यौन दुर्व्यवहार मुद्दामा पैसा खाएको आरोप
प्रहरीलाई भित्रै थुनेर चौकीमा तालाबन्दी, यौन दुर्व्यवहार मुद्दामा पैसा खाएको आरोप
सांकेतिक तस्बिर ।
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले बिहीबार वाणगंगा नगरपालिका- ४, गजेहडा चौकी घेराउ गरेका छन् ।
वाणगंगा, गजेहडाका एक बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो ।
पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुर्व्यवहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् । प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।
सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन ।
इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो । महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाइन् । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए । (रासस)
प्रकाशित समय १५:५८ बजे

















