गृहपृष्ठ अछाममा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि
अछाममा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि
अछाममा थप नौ जनामा कोरोना पुष्टि भएको छ । योसँगै अछाममा कोरोना पुष्टि हुनेको संख्या ११ पुगेको छ । थप दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।
मंगलबार मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटका दुई वटा क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
वडा नम्बर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन् । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट ९ गते कुष्कोट पुगेका थिए ।
यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैको सुर्खेत प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । सोमबार मात्रै चौरपाटी गाउँपालिका वडा नम्बर २, सोकटमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।
एक जनाको धनगढी प्रयोगशाला र एक जनाको सुर्खेत प्रयोगशालामा परीक्षण गरिएको थियो । योसंगँ सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
प्रकाशित समय १३:१२ बजे
















