गृहपृष्ठ कर्मचारीमा कोरोना भेटिएपछि प्रदेश २ को स्वास्थ्य आपूर्ति केन्द्र नै क्वारेन्टिन

कर्मचारीमा कोरोना भेटिएपछि प्रदेश २ को स्वास्थ्य आपूर्ति केन्द्र नै क्वारेन्टिन

प्रदेश २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टिन बनाइएको छ । जेठ १५ गते केन्द्रका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ को स्वास्थ्य आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टिन बनाइएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी श्रवण नायकका अनुसार कार्यालयमा कार्यरत नौ जना कर्मचारीको जेठ ११ गते स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा टेस्ट गर्दा एक महिला कर्मचारीमा जेठ १५ गते कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष आइसोलेसनमा उपचारार्थ भर्ना गरिएको छ । कार्यालयलाई पूर्ण रुपले स्यानिटाइज गरेर डिसइन्फेक्ट गरिएको छ । कार्यालयकै कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अन्य कर्मचारीले कार्यालयको सभाकक्षलाई क्वारेन्टिनमा रुपान्तरण गरी कार्यालय सञ्चालन गर्दै आएको श्रवण नायकलले बताए ।

प्रदेश २ का आठ जिल्लाको अस्पतालदेखि स्वास्थ्य कार्यालयसम्म आपूर्ति केन्द्रले स्वास्थ्य सामग्री नियमित आपूर्ति गर्दै आएको छ । स्वास्थ्य निकायलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स, स्यानिटाइजर तथा प्रयोगशालाका लागि कोरोना परीक्षण गर्ने किट, केमिकल रिएजेन्टलगायतका सामग्री आपूर्ति गर्दै आएको केन्द्रका निर्देशक प्रमोद यादवले जानकारी दिए ।

निर्देशक यादवले अन्य कार्यालय भए शिल गरिने तर यहाँबाटै प्रदेशभर स्वास्थ्य सामग्री पठाइने गरेकाले अहिले कर्मचारीलाई क्वारेन्टिनमा राखेर अफिसमै खाने, सुत्ने र काम गर्ने गरी प्रबन्ध मिलाइएको बताए ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु