गृहपृष्ठ डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएकाा छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ,’ उनले भनेका छन् । डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको उनले आरोप पनि लगाएका छन् ।

राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् । लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक वृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो ।

डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् ।
उनको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।

लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना संक्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो । अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु