गृहपृष्ठ संसद सचिवालयमा ३७३ कर्मचारी, करारमै ११४, कार्यालय सहयोगी नै ८२ जना

संसद सचिवालयमा ३७३ कर्मचारी, करारमै ११४, कार्यालय सहयोगी नै ८२ जना

कुल कर्मचारीको २२ प्रतिशत कार्यालय सहयोगी

samsad-bhawan2-newskarobar

संघीय संसद सचिवायलमा कार्यरत ३७३ कर्मचारीमध्ये ११४ जना करारमा राखिएको पाइएको छ । करारमा राखिएकामध्ये ६० जना कार्यालय सहयोगी छन् । सचिवालयमा २५० जना स्थायी, नौ जना काजमा र ११४ जना करारमा भर्ना गरिएको हो ।

सचिवालयमा सहसचिव नै १५ जना छन् । त्यस्तै उपसचिव २७ जना, अधिकृत ५६ जना, नायब सुब्बा ८४ जना, खरिदार १७ जना, पाँचौँ तहका कर्मचारी ४९ जना र कार्यालय सहयोगी २२ जना स्थायी छन् । यसबाहेक महासचिव, प्रतिनिधिसभाको सचिव र राष्ट्रिय सभाको सचिव कार्यरत छन् ।

२५० जना कर्मचारीले नपुगेर सचिवालयमा ११४ जना करारमा नियुक्त गरिएको हो । जसमा १३ जना त कम्प्युटर अपरेटर नै छन् । स्थायी ६ जनासमेत जोड्दा कुल कम्प्युटर अपरेटरको संख्या १९ हुन आउँछ ।

त्यस्तै ६० जना कार्यालय सहयोगी करारमा राखिएको छ । स्थायी २२ जना जोड्दा कार्यालय सहयोगीको संख्या ८२ हुन्छ । यो कुल कर्मचारी संख्याको करिब २२ प्रतिशत हो ।

करारमै पाँच जना क्यामेरा म्यान, दुई जना फोटोग्राफर, बसका हेल्पर तीन जना, हलुका सवारी चालक १५ जना, प्लम्बर दुई जना, सिकर्मी र बगैँचे एक‑एक जना र कुचीकार दुई जना राखिएको छ । हलुका सवारी चालक स्थायी पनि १३ जना छन् । यससँगै संसद सचिवालयमा कुल हलुवा सवारी चालकको कुल संख्या २८ छ । सचिवालयमा यसबाहेक विभिन्न तहका नौ कर्मचारी काजमा ल्याइएको छ ।

संघीय संसदमा प्रत्यक्ष र समानुपातिक गरी २७५ प्रतिनिधि सभा सदस्य छन् भने राष्ट्रिय सभा सदस्य ५९ जना छन् ।  संसदका दुवै सदनमा गरी १६ वटा समिति छन् । प्रतिनिधि सभामा मात्रै १० वटा, राष्ट्रिय सभामा मात्रै चार वटा र दुईवटा संयुक्त समिति छन् । संसद सचिवालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी १३ महाशाखा र ३० वटा शाखा छन् भने नौ वटा इकाइ छन् ।

संघीय संसदका समितिहरू, सबै महाशाखा, शाखा र इकाइहरूबीच चिठीपत्र आदानप्रदान, सरसफाइलगायतमा ठूलो संख्यामा कार्यालय सहयोगी स्तरका कमर्चारी आवश्यक पर्ने सचिवालयका उपसचिव एवं सहायक प्रवक्ता दशरथ धमला बताउँछन् । ‘पहिलो त हाम्रो कार्यालय नै दुईतिर छन्, कार्यालय एकैठाउँमा हुने भए केही कटौती गर्न सकिन्थ्यो होला,’ उनी भन्छन्, ‘त्यसमाथि हाम्रो जिम्मेवारी नै त्यही प्रकृतिको छ, महाशाखा, शाखा र इकाइहरू धेरै छन्, यी सबैलाई जोडिरहन सहायक स्तरका धेरै कर्मचारी चाहिन्छ ।’

अहिले कानुनतः खरिदारभन्दा तल्लो स्तरका कर्मचारीको स्थायी नियुक्ति नहुने भएकाले रिक्त पदमा प्रक्रिया पूरा गरेर करारमा कर्मचारी भर्ती गर्नुको विकल्प नभएको सहायक प्रवक्ता धमलाले जानकारी दिए । ‘माथिल्ला तहमा कर्मचारी स्थायी भर्ना गरेर सहायक स्तरबाट हुने काममा लगाउनु झनै गलत हुन्छ,’ उनले भने, ‘त्यही भएर प्रक्रियामा रहेर करारमा भर्ना गर्दै जाँदा करारका कर्मचारीको संख्या बढ्दै गएको हो ।’

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु