गृहपृष्ठ कहिले माया वेम्बले, कहिले माया मूलपानी

कहिले माया वेम्बले, कहिले माया मूलपानी

घुमन्ते र प्रकृतिप्रेमी गायक अमृत गुरूङको ग्रामीण दिनचर्या

लकडाउनले मानिसको दैनिकी, आनीबानी र जीवनशैली परिवर्तन गराएको छ । लामो समय लकडाउन हुँदा धेरै मानिसले अरु काम र विषयतिर ध्यान दिन थालेका छन् । अहिले को कलाकार, को व्यापारी, को उद्योगी, को सर्वसाधारण । सबैले फरक-फरक जीवनशैलीमा रमाउने मौका पाएका छन् । लाग्छ, वास्तविक जीवनको स्वाद र सौन्दर्य बुझ्ने समय मिलेको छ ।

एक प्रकारले लकडाउन सबैको अवसर बन्न पुगेको छ । पट्यारलाग्दो नै सही, लकडाउनले स-साना कुरा नियाल्ने र प्रकृतिसँग नजिकिने बहाना जुर्‍याइदिएको छ । कोही खेतबारीमा रमाएका छन् । कोहीको समय आफ्ना परिवार र बालबच्चासँग रमेर बितेको छ । कोहीले साहित्यमा ध्यान दिएका छन् त कसैको मन खेतीपातीले तानेको छ ।

यतिबेला गायक अमृत गुरुङ पनि वनपाखा र खेतबारीको माहौलमा रमेका छन् । उनको फेसबुक पेजको पछिल्लो अपडेट हेर्दा उनलाई अहिले धान रोप्ने चटारो छ । ‘यसपाली जेठो बुढो र गुर्दि धानका वियाद राम्रै भएका छन् । पानी पनि राम्रै परेको छ, मूलपनि राम्रै फुटेको छ । हाम्रोमा त रोपाईं पनि शुरु भयो। हाम्रो खेतमा रासायनिक मल नछर्ने र स्थानीय बीउ नै लगाउने भएकोले आयातित मल र बीउको अभावले प्रभाव पारेन । धेरै किसानलाई यो अभावले पिरोलेको छ । स्थानीय बीउ जोगाउन पनि चुनौती भइसक्यो ।’ गायक गुरुङले फेसबुक पेजमा लेखेका छन् ।

लकडाउन सुरु भएदेखि आफ्नै गाउँ, भीरपाखा र प्रकृतिँंग रमाइरहेका छन् उनी । गाउँको स्वच्छ वातावरणमा चराचुरूङ्गीको मिठो चिरबिरसँगै आफूलाई पनि सम्मिलित गराउन पाउँदा कसको मन नरम्ला र ? यस्तै-यस्तै परिवेशको पनि उनको फेसबुकमा वर्णन छ । घुमन्ते र प्रकृतिप्रेमी स्वभावका गायक गुरुङ गितार र झोला भिरेर रनवन चहारेका छन् । सुनाखरी र जंगली फूलहरुको साथै प्राकृतिक छटाहरुले उनलाई मोहनी लगाएको बुझ्न सकिन्छ । ऐंसेलु, चुथ्रो र काफलको स्वादमा लठ्ठिएका उनी सागसब्जीको खोजीमा खोलाखोल्सी चहार्दा रहेछन् । यसरी खोजिहिँड्दा भेटेको निगुरोको तरकारी, गहुँको रोटी र गाइको दुधले अर्गानिक छाक टार्छन् उनी कहिलेकाहीँ ।

संगीतका पारखीमाझ कुनै नौलो नाम हैन अमृत गुरुङ । हिँड्दा, डुल्दा वा यात्राको क्रममा सुनेका स्थानीय भाकाहरुलाई जस्ताकोतस्तै टिपेर नयाँ स्वादमा पस्कनु उनको खुबी हो । नेपालका चर्चित सांगीतिक ब्याण्ड नेपथ्यका ‘भोकलिस्ट’ उनी लकडाउनयता कास्की र स्याङ्जाको सीमावर्ती भेग मूलपानीमा रहेको गोठमा बिन्दास छन् । उनको दिनचर्या गोठ र खेतीबाली स्याहार्दै बितिरहेको छ । जहाँ उनी कमिलाको ताँती नियाल्छन् । लाटोकोसेरोको परिवारसँग सामिप्यता राख्छन् ।

स्थानीय खानेकुरामा पनि उनको निकै रुचि देख्न सकिन्छ । उनको पेजका पोस्टहरु हेर्दा लाग्छ उनी गायक नभएर एक सामान्य ग्रामीण किसान हुन् । लवाई-खुुवाईबाट झल्किने उनको सादा जीवनको शैली जोकोहीका लागि प्रेरक छ । हरेक किसानकोे सुख-दुख आफ्नै खेतबारीसँग जोडिएको हुन्छ । हरसमय उनीहरु असल उब्जनीको सपना देख्छन् र त्यही अनुसार मेहनत पोख्छन् खेतबारीका गह्रा-गह्रामा ।

केही दिनअघि उनले बारीको मकैलाई आफ्नो कम्मरले नापेका छन् । उनी मख्ख छन् आफूले रोपेको मकै राम्रो भएकामा, ‘‪लक डाउन शुरु भएपछि छरेको मकै, कम्मर नाघिसक्यो । अन्न छरेपछि हुर्कन्छ, पाइला चालेपछि यात्रा शुरु भएजस्तै । आगौंको लागि मकैको जुगाड पनि हुने भो । अबको वर्षामा मकैका पातमा बज्ने पानीका थोपा सुन्न मज्जा आउनेभो ।’

विभिन्न उचारचढाव झेल्दै नेपथ्य ब्याण्डले स्थापनाको २५औँ वर्ष मनाइसकेको छ । लकडाउन नहुँदो हो त अमृत सहितको टोली यतिबेला विश्वका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममा व्यस्त हुन्थे । ‘छेक्यो छेक्यो’, ‘सा कर्णाली’, ‘रेशम’, ‘तालको पानी’, ‘मै नाचे छमछमी’, ‘पानी तिरतिरे’जस्ता नेपथ्यका दर्जनौं गीतहरु श्रोतामाझ लोकप्रिय छन् ।

विश्वकै चर्चित प्रेक्षालय बेलायतस्थित वेम्बली एरेनामा समेत आफ्नो ब्याण्डसहित प्रस्तुति दिइसकेका गायक गुरुङले देखाएको प्रकृतिप्रतिको मोह र खेतबारीसँगको प्रेम अनुकरणीय छ । गीतसंगीत प्रस्तुतिका दौरान नेपालका जिल्ला-जिल्ला र वेम्बले एरेनाजस्ता विश्वका सांगीतिक स्वप्न स्थलहरु दौडिहिँड्ने उनी यतिबेला मूलपानीको माहौलमा मस्त छन्, व्यस्त छन् ।  

(तस्बिरहरू : गायक गुरूङको फेसबुक पेजबाट) 

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु