गृहपृष्ठ सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन, नलिए कारबाही
सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन, नलिए कारबाही
संशोधन प्रस्ताव फिर्ता नलिए समाजवादी पार्टीकी सांसद सरिता गिरीमाथि कारबाही हुने भएको छ । सरकारले निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न गिरीले संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीले विज्ञप्ति निकालेर प्रस्ताव फिर्ता लिन चेतावनी दिएको हो । प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्न बाध्य हुने सचेतक उमाशंकर अरगरियाले बताए ।
समाजवादी पार्टी मंगलबार संसदमा पेस गरिएको संविधान संशोधन प्रस्तावको पक्षमा उभिइसकेको छ । संसदीय दलको ह्विपपछि पार्टी संविधान संशोधनको पक्षमा उभिइसकेपछि एक जना सांसदबाट यो तहको उद्दण्ड गतिविधि हुनु एकदमै गलत भएको समाजवादी पार्टीका नेता शिवजी यादवले बताए । ‘यो उद्दण्ड काम हो, यसले पार्टीको प्रतिष्ठामै असर पर्ने स्थिति आएको छ, दलको उपनेताले त्यसो गर्नु भनेको दलले नै गरेबराबर हुनेछ,’ उनले भने, ‘यसमा पार्टीले एक्सन लिनुपर्छ ।’
सांसद गिरीले देशकै प्रतिष्ठामाथि आँच आउने गरी सदनमै नेपालको नक्साका विषयमा गम्भीर र अराजनीतिक अभिव्यक्ति दिँदै आएकी छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा सबै दल र देशवासी एक भएका बेला उनले भारतको पक्षमा तर्क गर्दै आएपछि नियतमाथि नै प्रश्न उठाइन थालेको थियो ।
गिरीले एक टेलिभिजन अन्तर्वार्तामा नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य हुनेसम्मका अभिव्यक्ति दिएकी थिइन् । भारतलाई नसोधी नयाँ नक्सा जारी गरेको भन्दै उनले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएकी थिइन् । तर, नेपालको भूमिलाई समेटेर नक्सा जारी गर्न भारतलाई सोध्न जरूरी नै नभएकोतर्फ उनले बेवास्ता गर्दै आएकी थिइन् । विगतमा पटक पटक विवादित अभिव्यक्ति दिए पनि पार्टीले मौनता साँध्दै आएको थियो । तर, नेपालको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक संसदमा पेस भएपछि त्यसलाई खारेज गरिपाऊँ भन्दै अर्को प्रस्ताव पेस गरेपछि पार्टीले एक्सन लिएको हो ।
पार्टीको निर्देशनविपरीत प्रस्ताव फिर्ता नलिए सांसद गिरीको राजनीतिक जीवन नै धराशायी हुने निश्चतप्रायः भएको छ ।
प्रकाशित समय १८:१२ बजे

















