गृहपृष्ठ कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन भएन

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन भएन

स्वाब संकलन गरिँदै । (फाइल तस्बिर)

धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन हुन सकेको छैन । कोरोना पुष्टि नहुँदै अन्त्येष्टि गरिएकी महिलाको मलामी गएकाहरुको समेत स्वाब संकलन हुन नसकेको हो ।

धनगढी उपमहानगरपालिका- ४, महिमा टोलकी ५५ वर्षीय महिलाको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको थियो । उनको मृत्यु कोरोना भाइरसका कारण भएको शनिबार दिउँसो मात्रै पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका- ४ का अध्यक्ष दीपक थापाले स्वाब संकलनका लागि पटक-पटक आग्रह गर्दासमेत वेवास्ता गरिएको जानकारी दिए । ‘मलामी गएका र मृतक महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी भइसकेको छ,’ अध्यक्ष थापाले भने, ‘तर परिवारका सदस्यको समेत परीक्षणका लागि स्वाब संकलन भएको छैन ।’

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेब लक्ष्मी उपाध्यायले पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न नसकिएको बताए । ‘धनगढीमा मात्रै आरडीटी पोजेटिभ देखाएका झण्डै ३० जनाको ६ दिनदेखि कोरोना परीक्षण हुन सकेको छैन,’ उपाध्यायले भने, ‘प्रयोगशालामा स्वाबको चाप धेरै भएको र तत्काल परीक्षण सम्भव नभएकाले स्वाब संकलन नगरिएको हो । महिमा टोलमा गएर ज्वरो मापनको काम भने भइरहेको छ ।’

मृतक महिलाको अन्त्येष्टिमा धनगढी उपमहानगरपालिका- ४ सहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई जना गरी ४९ जना सहभागी थिए । मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटोचालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए ।

शुक्रबार दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु