गृहपृष्ठ कोरोनाबाट ब्राजिल र अमेरिकापछि दैनिक ज्यान गुमाउने भारतमा धेरै

कोरोनाबाट ब्राजिल र अमेरिकापछि दैनिक ज्यान गुमाउने भारतमा धेरै

विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार नाघ्यो

ब्राजिल र अमेरिकापछि नोवेल कोरोनाभाइरस (कोभिड १९)बाट दैनिक ज्यान गुमाउनेको भारतमा धेरै छ । केही दिनयता भारतमा कोरोना संक्रमण र ज्यान गुमाउनेको संख्या उच्चदरमा बढ्दै गएको हो ।

भारतमा सोमबारमात्रै ३९५ जनाले ज्यान गुमाएका छन् । यो संख्या ब्राजिल र अमेरिकापछिको धेरै हो । कोरोनाबाट सोमबार सबैभन्दा धेरै ब्राजिलमा ७२९ र अमेरिकामा ४२४ जनाले ज्यान गुमाएका छन् । मेक्सिकोमा २६९ जनाको मृत्यु भयो ।

त्यस्तै भारतमा एकै दिनमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो संख्या अमेरिका र ब्राजिलपछिको धेरै हो । सोमबार अमेरिकामा २० हजार र ब्राजिलमा २३ हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्यामा भारत चौथोमा छ । हालसम्म अमेरिकामा सर्वाधिक २१ लाख ८२ हजार, ब्राजिलमा ८ लाख ९१ हजार, रुसमा ५ लाख ३७ हजार, भारतमा ३ लाख ४३ हजार र बेलायतमा २ लाख ९६ हजार संक्रमित फेला परेका छन् ।

त्यसैगरी मृतक संख्या अमेरिकामा सर्वाधिक १ लाख १८ हजार २८३, ब्राजिलमा ४४ हजार ११८, बेलायतमा ४१ हजार ७३६, इटालीमा ३४ हजार ३७१ र फ्रान्समा २९ हजार ४३६ छन् ।

हालसम्म विश्वभर ८१ लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने ४ लाख ३९ हजारको मृत्यु भइसकेको छ । ४२ लाख १३ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

भारतमा संक्रमण संख्या तीव्र हुँदै जाँदा नेपालमा त्रास बढेको छ । खुला सीमाका कारण संक्रमित भारतीय नेपाल प्रवेश गर्न सक्ने भएकाले सीमा क्षेत्रका नेपालीमा थप त्रसित छन् । भारतमा रोजीरोटीका लागि गएर फर्किएका नेपालीको सरकारले सही व्यवस्थापन नगरेकै कारण हाल नेपालमा पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु