गृहपृष्ठ ‘म्याच फिक्सिङ’ प्रकरण : सागर थापासहित सबैलाई सर्वोच्चबाट पनि सफाई
‘म्याच फिक्सिङ’ प्रकरण : सागर थापासहित सबैलाई सर्वोच्चबाट पनि सफाई
'समय र मेहनतको मूल्यांकन कसले गर्दिने ? सरकारले, एन्फाले ?'
सर्वोच्च अदालत । इन्सेटमा : विशेष अदालतबाट सफाइ पाएपछि सागर थापासहित (फाइल तस्बिर )
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ जनाले ‘राज्य विरुद्धको अपराध’ मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’ (मिलेमतो) गरेको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै मंगलबार सर्वोच्चले उनीहरूलाई सफाइ दिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राई र फिजियोथेरापिष्ट डेजिव थापालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । दुई दिनपछि अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेर छुटेका थिए । त्यसपछि एसियाली फुटबल महासंघ(एएफसी)ले उनीहरुलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरेको थियो ।
सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले फैसला सुनाएको हो । उनीहरुलाई २०७५ जेठ २४ गते विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको थियो ।

राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको र प्रतिखेल ५ हजार डलरसम्म लिने गरेको प्रहरीको दावी थियो । उनीहरुले उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चको फैसलापछि सागर थापाले सत्यको जित भएको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै न्यायको अपेक्षासमेत गरेका छन् । ‘सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि । न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मुल्यांकन कसले गर्दिने, सरकारले, एन्फाले ?’ उनले प्रतिक्रिया जनाएका छन् ।

प्रकाशित समय १८:५० बजे

















