गृहपृष्ठ लकडाउनका बीच पनि कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि

लकडाउनका बीच पनि कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि

Nepal-Rastra-Bank-newskarobar

सरकारले विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि चैत ९ गतेदेखि लकडाउन गरे पनि कर्जा तथा निक्षेप संकलनमा वृद्धि भएको पाइएको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको चालू आर्थिक वर्ष २०७६/७७ को १० महिने समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा ११.१ प्रतिशतले बढेको छ ।

कर्जा वृद्धिदर भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तसम्ममा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा ११.५ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ ।

२०७७ वैशाख मसान्तसम्ममा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत थियो ।

२०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत थियो ।

लकडाउनका बीच पनि बाह्य व्यापारका लागि एलसीको काम भइरहेकाले व्यापारतर्फ कर्जा प्रवाह भइरहेको बैंकर बताउँछन् । लकडाउन अवधिमा पनि आयात‑निर्यात व्यापार निर्वाध भइरहेको छ ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु