गृहपृष्ठ २२ लाख दाइजोले छुट्टयाएको पाँच वर्षको प्रेम

२२ लाख दाइजोले छुट्टयाएको पाँच वर्षको प्रेम

विश्व २१औँ शताब्दीमा दौडिरहँदा हाम्रो समाज विकृति र विसंगतिले कुनै न कुनै रुपमा बन्धक छ । सामाजिक विकृति थुप्रै छन् । दाइजोका कारण हामी नेपालीले समय‑समयमा डरलाग्दा घटना घटेको सुनुपर्छ- फलानाले श्रीमतीको हत्या गर्‍यो, जिउँदै जलायो आदि इत्यादि । अनि घटना सुनेपछि कथित बुद्धिजीवीहरु ठूला-ठूला बहसमा उत्रिन्छन् । अधिकारवादीहरु त सामाजिक सञ्जालदेखि सडकसम्म ठूला ब्यानरका साथ प्रदर्शन र नाराबाजीसहित प्रस्तुत हुन्छन् ।

तर, ताजुब कहाँ लाग्छ भने आफू माननीय हुँदा आफ्नै छोरीले गैरदलितसँग बिहे गरेको झोँकमा ज्वाइँ थुन्ने र कुट्नेहरु पनि त्यतिबेला बुरुक-बुरुक उफ्रिन्छन् । विभेदविरुद्धका भाषण गर्छन्, नाराबाजीमा सरिक हुन्छन् । पाखण्डी बुद्धिजीवीहरुसँग तालमा ताल मिलाउँछन् । मिडियामा पनि तिनै छाउँछन् । दाइजो लिने र दिने अनि सामाजिक विषय पठाउने शिक्षकले दाइजोविरुद्ध विद्यार्थीलाई पढाएको देख्दा र सुन्दा शिक्षकलाई कुन खालको शिक्षकको रुपमा परिभाषित गर्ने भन्ने अन्योल त छँदै छ ।

त्यसैले आज यस्तै तथाकथित शिक्षित परिवार र सम्पन्न ठान्ने परिवारमा दाइजोका कारण घटित घटनाबारे लेख्ने प्रयास गरेका छौँ ।

एक जना साथीको घटनालाई उनकै अनुरोधमा हामीले आफ्नो कलमको माध्यमबाट तपाईंहरु माझ ल्याउन चाहेका छौँ । ती समाजप्रति जिम्मेवार साहसी साथीलाई हामी सलाम गर्न चाहन्छौँ । किनभने उनी नेपाल त्यसमा पनि मधेसकी छोरी, जसले आफ्नो जीवनमा घटेको घटनालाई समाजसामु ल्याउन चाहेकी छिन् ताकि आउने दिनमा कुनै पनि छोरीचेली यस्ता घटनाका सिकार नबनुन् ।

शिक्षित परिवारकाहरू दाइजोका विषयमा निकै सचेत हुन्छन् भनिन्छ । बिडम्वना, विगतका घटना नियाल्ने हो भन्ने दाइजोकै कारण घटित घटना शिक्षित र सम्पन्न परिवारमा धेरै छन् । यो घटना पनि एक शिक्षित र हरेक हिसाबले सम्पन्न परिवारको हो ।

दुई शिक्षित परिवारका दुई शिक्षित युवा-युवती मिलन विन्दु अर्थात् विवाहको समिप पुगेका बेला दाइजोको कारण पाँच वर्षको प्रेममा पूर्णविराम लागेको घटना हो । युवक एमबिबिएस र युवती एग्रिकल्चरमा स्नातक अध्ययनरत छन् । तिनीको प्रेम सम्बन्ध गहिरो थियो ।

युवायुवतीकै कारण दुवै परिवारबीच समेत घनिष्ट सम्बन्ध विकसित भएको थियो । एक-अर्काको घर जाने-आउने, झगडा भए परिवारले नै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेसम्म हुन्थ्यो । दुबै परिवारका अभिभावकले बुहारी र ज्वाइँ बनाउने मौखित रुपमा घोषणासमेत गरेका थिए । यो सम्बन्धलाई अधिकारिक रुप दिने समय आइसकेको थियो । युवतीको स्नातक सकिएको थियो । युवक पनि अन्तिम वर्षमा भएकाले युवतीका बुवाले विवाहको प्रस्ताव राख्छन् । युवक डाक्टर हुने भएकाले मोटो दाइजो दिनेहरुको चहलपहल चल्न थालेको थियो । युवकका बुवालाई दाइजोका ठूला–ठूला अफर आउन थाले । युवतीका बुवालाई युवकका बुवाले समेत ‘मैले छोरोको पढाइमा ठूलो रकम खर्च गरेकाले त्यही अनुसारको मोटो रकम पाउन सक्छु भने मात्र तपाईंकी छोरीलाई बुहारी बनाउन सक्छु’ भनिसकेका थिए ।

केही दिनअघिसम्म आलिंगनमा रमाउँदै सात जुनीसम्म ‘सँगै बाँच्ने सँगै मर्ने’ कसम खाएको यो जोडी दाइजोकै कारण छुटिनुपर्ने अवस्थामा थियो । पाँच वर्षदेखिको प्रेम सम्बन्धमा दाइजोकै कारण पूर्णविराम निश्चित भएको थियो । युवतीले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । कयौंचौटि आत्महत्या गर्ने प्रयाससमेत गरिन् । युवतीका परिवारले ‘ठिकै छ, छोरीको निम्ति दाइजो दिन तयार छौँ’ भन्दै सम्बन्ध अगाडि बढाउन खोजे तर युवतीले दाइजो दिएर विवाह गर्न अस्वीकार गरिन् ।

युवतीका परिवारले ‘ठिकै छ, छोरीको निम्ति दाइजो दिन तयार छौँ’ भन्दै सम्बन्ध अगाडि बढाउन खोजे तर युवतीले दाइजो दिएर विवाह गर्न अस्वीकार गरिन् ।

यता, युवकको परिवारले पनि युवकलाई जनाकारी नै नगराई २२ लाख दाइजो लिएर अर्कै युवतीसँग विवाह निधो गरे । युवकका बुवाले युवकलाई विभिन्न जालझेल गरेर, युवकलाई भावनात्मक नाटक देखाए । तिमी विवाह नगर्ने भए म विष खान्छु सम्म भन्न थाले । यसपछि युवक ‘इन्गेजमेन्ट’ गर्न बाध्य भएका छन् ।

यस्ता धेरै घटना छन् । यस्ता घटनाहरूबारे थाहा पाउँदा, पढ्दा र सुन्दा अनौठो लाग्छ । मनमा अनकौँ प्रश्नहरू उब्जिन्छन् । यो दाइजो प्रथा हाम्रो समाजमा कति गहिरोसँग जकडिएको छ ? यसको अन्त्य कसरी हुन्छ ? यसको अन्त्यका लागि किन कोही पनि गम्भीर बन्दैनन् । गरिब परिवारमा छोरी जन्मिदा विरक्तिनुपर्ने अवस्था सिर्जना हुने यसैका कारण होइन र ? गर्भमै भ्रुण हत्याका बढाउने माध्यम छोरीमाथिको विभेद नै होइन र ? के छोरी दाइजोका नाममा किनिने या बेचिने साधन हुन् ?

नेपालका पूर्वदेखि पश्चिमसम्म, हिमाल, पहाडदेखि तराईसम्म र सबै जातजाति, समुदाय र सम्प्रदायसम्म फैलिएको दाइजो प्रथाले सामाजिक कलंकको रुप धारण गरिरहँदा किन यसलाई गम्भीर रुपमा लिइँदैन ? दाइजोका कारण घरपरिवारबाट अपहेलित हुनुपर्ने, जिउँदै जल्नुपर्ने, मर्नुपर्ने र नरकको जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्न नसकिने नै हो ?

पछिल्लो अध्ययनअनुसार दाइजोका कारण बढी घटना शिक्षित परिवारमै भएका छन् । एउटा अंग्रेजी भनाइ सापटी लिएर भन्दा ‘सबै दुनियाँ परिवर्तन गर्न चाहन्छन् तर आफू कोही पनि परिवर्तन हुन चाहँदैनन् ।’ यसरी नै सबै दाइजो प्रथा खतम गर्न लागिपरेको नाटक गर्छन् तर आफू दाइजो दिने र लिनेमा संग्लन छन् । कानुनको प्रयोग आफूले दाइजो लिने र दिने बेला गरिँदैन । जब दाइजोकै कारण समाजमा कुनै घटना भइसक्छ अनि मात्र अदालतको ढोका ढक्ढक्याइन्छ, सडक तताइन्छ, बुद्धिजीवीहरू चर्का बहसमा केन्द्रित हुन्छन्, मिडियाका पहिला पेज ढाकिन्छन् अनि नेताहरू सान्त्वना र ढाढससहित नाटकीय ढंगले प्रस्तुत हुन्छन् ।

हामी सबै मिल्यौँ भने दाइजो प्रथाको अन्त्य गर्न सक्छौँ । तर, त्यसका लागि आ-आफ्नो ठाउँबाट पहिला बलियोसँग दाइजोविरुद्ध उभिनुपर्छ । आफू र आफ्नो परिवारबाटै पहिला दाइजो लिनेदिने कार्य बन्द गर्नुपर्छ । दाइजो लिएर हुने विवाहको विरुद्ध उभिनुपर्छ । दाइजोको स्थायी समाधान खोज्न घटना हुनुअघि नै लागिपर्नुपर्छ । पैतृक सम्पत्तिमा छोराको मात्र हक लाग्नुले पनि यस्ता प्रथालाई मलजल पुर्‍याएको हुनसक्छ । पैतृक सम्पत्तिमा कि कसैको पनि हक नलाग्ने कानुन बनाउनुपर्छ कि त छोराछोरी दुवैको बराबर हक लाग्ने कानुन बनाउनुपर्छ । किनकि छोरा र छोरी एउटै कोखबाट जन्मिएका हुन् । त्यसैले हरेक कुरामा दुबैको समान अधिकार स्थापित गरिनुपर्छ । यसले मात्र दाइजो प्रथालाई जरैदेखि उखेल्न सक्छ ।

​दाइजोले आजसम्म कति बालिका–नाबालिकाको ज्यान लिएको छ । कति दिनरात मानसिक तनाव सहेर बसेका छन् भने कति शारीरिक पीडा व्यहोरेर बसेका छन् । यसमा दोष कसको ? सरकारको कि समाजको ? व्यवस्थापिकाले कानुन बनाएको छ र कार्यान्वयनका लागि सरकार छ । प्रहरी र प्रशासनको माध्यमबाट सरकार देशभर उपस्थित छ । जाहेरी परेपछि प्रहरी खटाइन्छ । दोषीले सजाय पनि पाउँछ तर किन दाइजो प्रथाले झनै जरा गाडिरहेको छ ? यसमा समाजको भूमिका नभएको हो । समाजको भूमिका गलत भएर हो । समाजले दाइजो नलिने परिवारलाई दाइजो नलिएको भन्दै हेप्ने, दाइजो लिन प्रोत्साहित गर्ने र घरपरिवारका सदस्यलाई भड्काउनेलगायतका काम गरिरहेको हुन्छ । यस्ता व्यक्तिलाई पनि सरकारले अब कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

समाजले यस्ता विकृतिविरुद्ध जागरुक भई एकताका साथ काम गर्ने हो भने यस्ता कुरीति एक झोक्कामा उडेर जान सक्छन् । हाम्रो समाज हामीले नै बनाउने हो । हामी बुझेका मानिस, मुख्यतः युवाशक्तिले आ–आफ्नो स्तरबाट जागरुक भएर दाइजो मात्र होइन, हरेक घरेलु हिंसाविरुद्ध आवाज उठाउने हो भने छोरीमाथिको अत्याचार केही वर्षभित्रै निर्मूल हुनेछ । सोचौँ, अहिले हामीले दिएको पीडा पछि आफूले पाउनुपर्‍यो भने झेल्न सकिएला ! संसारमा धनी मानिस गरिब बनेका र गरिब मानिस धनी बनेका धेरै उदाहरण छन् । अहिले अरुमाथि आफूले गरेका अत्याचार, अरुले आफूमाथि गर्दा सहन गर्न सकिँदैन भने पहिल्यै त्यागौँ ताकि अहिले अरुलाई चढाएको शुलीमा पछि आफू बलि चढ्न नपरोस् ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु