गृहपृष्ठ ४ प्रशिक्षकलाई एएफसीको ‘ए क्याटेगोरी’ लाइसेन्स, १७ जना अनुत्तीर्ण
४ प्रशिक्षकलाई एएफसीको ‘ए क्याटेगोरी’ लाइसेन्स, १७ जना अनुत्तीर्ण
एशियाली फुटबल फेडेरेसन (एएफसी) ले गराएको परिक्षामा नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । अन्य दुई जनाले एएफसी प्रो ए लाइसेन्स पास गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको संकटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन् ।
ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्य रूपमा चाहिने गर्दछ । गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौँमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिनुभएको थिए । जसमा १७ जना भने फेल भएका हुन् ।
त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहेका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सकोे प्रयोगात्मक परीक्षा मात्र पास गरे । अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ । उनीहरूलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए ।
प्रकाशित समय १९:१६ बजे

















