गृहपृष्ठ नेपाल अपांग संघको जारी आन्दोलन र संघको भविष्य
नेपाल अपांग संघको जारी आन्दोलन र संघको भविष्य
पृष्ठभूमि
नेपालमा रहेका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, रोजगारी साथै उनीहरुको अवस्थाअनुसार जीविकोपार्जनमा सहयोग पुर्याउने पवित्र उद्देश्य राखी स्वर्गीय खगेन्द्रबहादुर बस्नेतले २०२६ सालमा स्थापना गर्नुभएको नेपाल अपांग संघ गैरनाफामुखी सामाजिक संस्था हो । हालसम्म आइपुग्दा यसले अपांगता भएका धेरै व्यक्तिलाई व्यावसायिक सीप, तालिम, शिक्षा, स्वास्थ्य तथा अन्य विविध सेवा प्रदान गरी आत्मनिर्भर बन्न र जो अति अशक्तताबाट ग्रसित छन्, उनीहरुलाई आजीवन सेवा उपलब्ध गराउँदै आएको कुरा सबैलाई विदितै छ । यहाँबाट सेवा लिएर पुनःस्थापित व्यक्तिहरु डाक्टर, नर्स, वकिल, पत्रकार, प्रशासक, शिक्षक, व्यापारी, राजनीतिक नेता, समाजसेवी जस्ता विभिन्न पेसा र क्षेत्रमा कार्यरत छन् । यो कोणबाट हेर्दा नेपाल अपांग संघ विशुद्द सामाजिक संस्थाको रुपमा नेपाली अपांगता भएका व्यक्तिहरुको मन र मानसपटलमा ताजै रहेको कुरा सायदै कसैले नकार्न सक्ला ।
संस्थाको स्थापना र यसको विकासका लागि तत्कालीन राजसंस्थाले गरेको सहयोग, समाजका विशिष्ठ व्यक्तित्वहरुले दिनुभएको नेतृत्व एवं मार्गनिर्देशन र दातृसंस्थाहरुले गरेको सहयोगका कारण संघले आफ्ना कार्यक्रम काठमाडौँमा मात्र नभई जनकपुर, दाङ, नेपालगन्ज र धनगढीमा समेत शाखा विस्तार गरी देशका कुनाकाप्चामा रहेका अपांगता भएका व्यक्तिलाई सेवा दिँदै आएको थियो । अहिले पनि यसलाई निरन्तरता दिने कोसिस भइरहेको देखिन्छ ।
जब देशमा ठूला–ठूला परिवर्तनहरु भए, तिनले समाजका विभिन्न अंगहरुमा असर नपारी रहन सकेनन् । नेपाल अपांग संघ पनि यसबाट अछुतो रहन सकेन । संघमा सञ्चालित विभिन्न कार्यक्रम धमाधम बन्द हुन थाले, जुन नेपालका अपांगता भएका व्यक्तिहरुका लागि ज्यादै दुःखद् यथार्थ थियो । समयको अन्तरालसँगै संस्थामा विविध थरीका विचार र राजनीतिक आस्थाका व्यक्तिहरुको आगमन हुन थाल्यो, संस्थालाई सामाजिकभन्दा बढी व्यापारीकरण गर्न थालियो, विशुद्द सामाजिक संस्थामा राजनीतिक चलखेल हुन थाल्यो, परिणामतः आज देशको अपांगताको क्षेत्रमा काम गर्ने अग्रणी संस्था भ्रष्टाचार मुद्दामा अदालत र अख्तियारको ढोका ढक्ढक्याउँदै हिँड्नुपरेको र छापाहरुमा हेडलाइन बनेको अवस्था छ, जसको सत्यतथ्य छानबिन भई यथार्थ सबैसामु आउनुपर्छ । साँढेको जुधाइ बाछाको मिचाइ गरी अपांगता भएका व्यक्तिका लागि सञ्चालित संस्था उनीहरुले पाउनुपर्ने सेवा र सुविधाबाट उनीहरूलाई विमुख गराउनु हुँदैन । त्यसो गरियो भने यो अन्तर्राष्ट्रिय अपांगता अधिकारविरुद्धको कदम मानिन्छ ।
तत्कालीन समस्याको समाधान
भनिन्छ, जब कमजोरी यत्रतत्र छरिन्छन् र त्यसको बारम्बार बेवास्ता गरिन्छ वा कुनै पनि कुराको हद नाघिन्छ तब विकल्पहरु खोजिन थाल्छन्, जसको परिणाम आन्दोलन हुने गरेको पाइन्छ । नेपाल अपांग संघमा पटक–पटक भएका आन्दोलन त्यसैका परिणाम हुन् । अहिले देशमा कोरोनाभाइरस संकटका कारण परिस्थिति विकराल बन्दै गरेको अवस्थामा आन्दोलन हुँदा अपांगता भएका व्यक्ति झन् जोखिममा पर्न सक्छन् । यस्तो विषम अवस्थालाई मध्यनजर गरी आन्दोलनका कार्यक्रम वार्ताका माध्यमबाट समाधान गर्नु बुद्धिमानी देखिन्छ । आन्दोलनकारी, विपक्षी, स्थानीय सरकार र स्वतन्त्र व्यक्तिहरुको समूह बनाई यसको छिटो छिनोफानो गरी आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेतर्फ सबै लाग्नु नै अहिलेको उत्तम विकल्प देखिन्छ ।
सबैले सबैको सम्मान गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरी रचनात्मक रुपमा यो समस्याको समाधान खोजी अपांगता भएका व्यक्तिलाई बढीभन्दा बढी समाजका हरेक क्षेत्रमा समावेशीताका लागि सबैले सहयोग गर्दै, आगामी दिनमा विगतका कमजोरीबाट पाठ सिक्दै अझ बढी सम्मान, सहयोग, समावेशीता तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने वातावरण बनाऊ ।
भावि योजना
१. नेपाल अपांग संघ सञ्चालनका लागि कार्यसमिति हरेक पाँच-पाँच वर्षमा निष्पक्ष चुनावबाट छान्ने व्यवस्था गर्नुपर्छ ।
२. विविध क्षेत्रका विज्ञहरुको उच्चस्तरीय सल्लाहकार समिति बनाई सो समितिको सिफारिसमा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
३. संघको विधान समयसापेक्ष परिमार्जन गरी हालको मागबमोजिम बढीभन्दा बढी अपांगता भएका व्यक्तिलाई सेवा प्रदान गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।
४. सामाजिक संघसंस्थाभित्र भ्रष्टाचार शून्य नीति बनाई त्यसको अक्षरशः पालना गरी कार्य सञ्चालन गरी हरेक तीन-तीन महिनामा संस्थाको सम्पूर्ण विवरण उच्चस्तरीय समितिमार्फत दातृनिकाय र सरकारलाई रिपोर्ट पेस गर्ने व्यवस्था गरिनुपर्छ ।
५. अपांग संघको जति पूर्वाधार सायदै अरु निजी संघसंस्थामा होला । यो संस्थाको काठमाडौँ जोरपाटीमा मात्र २६ रोपनी जग्गामा विभिन्न भौतिक संरचना बनेका छन् । साथै संस्थाको हाताभित्र सञ्चालनमा रहेका एसओएस बालग्राम, नेपाल अर्थोपेडिक अस्पताल, विद्यालय, खगेन्द्र नवजीवन गृह, जसले अपांगता भएका व्यक्तिलाई बढीभन्दा बढी सेवा प्रदान गर्नेतर्फ योजना बनाउनुपर्छ ।
६. नेपाल अपांग संघका शाखाहरुले प्रदेश सरकारसँग समन्वय गरी रोजगारमूलक सीप तथा व्यावसायिक तालिमहरु सञ्चालन गर्ने नेतृत्व लिनुपर्छ ।
७. संघको हातामा सञ्चालित विद्यालयको स्तरोन्नति गरी अपांगता भएका व्यक्तिहरुका लागि भौतिक तथा शैक्षिक रुपमा विशेष सुविधा सम्पन्न सार्क क्षेत्र स्तरीय उच्च शिक्षा अध्ययन केन्द्रको विकास गरिनुपर्छ ।
८. खगेन्द्र नवजीवन गृहलाई विशेष सुविधा सम्पन्न अतिअशक्त अपांगता स्याहार केन्द्रका रुपमा परिणत गरिनुपर्छ ।
९. नेपाल अर्थोपेडिक अस्पताललाई मेडिकल स्कुलमा परिणत गरी विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
(प्रस्तुत लेखमा व्यक्त भएका विचारहरू लेखकका निजी विचार हुन् । उनी हाल क्यानाडामा अपांगता अध्ययन तथा अनुसन्धान कार्यमा संलग्न छन् ।)
प्रकाशित समय १२:२१ बजे

















